दसैँमा तीन चलचित्र प्रदर्शन हुँदै : ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ को चर्चा


काठमाडौँ – आगामी दसैँलाई लक्षित गर्दै तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चाडपर्वमा दर्शकको बिदा हुने भएकाले चलचित्र भवनमा भिडभाड बढी हुने गर्दछ । सोही कारण चलचित्र निर्माता तथा निर्देशकले दसैँलाई लक्षित गर्दै ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शन गर्न लागेका हुन् । यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गर्दै फूलपाती (असोज १३) बाट नेपालसँगै विदेशमा समेत प्रदर्शन हुँदैछन् ।
चलचित्र ‘माइतीघर’ सामाजिक विषयमा निर्माण भएको छ । तामाङ संस्कृति समावेश गरिएको उक्त चलचित्रमा दुई छोरीको विवाहको कुरा चलेपछि आउने घटना क्रममा देखाइएको छ । मिलन तामाङले निर्देशन गर्नुभएको चलचित्र ‘माइतीघर’ मा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायतका कलाकारले अभिनय गर्नुभएको छ । ‘माइतीघर’ नाम र कथावस्तु अनुसार दसैँमै प्रदर्शन गर्ने निर्णय लिएको चलचित्रका रोहित अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“हामीले सामाजिक र पारिवारिक कथावस्तुलाई समेटेर चलचित्र तयार गरेका छौँ । सोही कारण दसैँमा प्रदर्शन गर्न लागेका हौँ । यो चलचित्रले परिवारको महत्व, सामाजिक सद्भावलाई बुझाउँदै मनोरञ्जन दिन्छ ।”
उहाँले पुरानो चलचित्र ‘माइतीघर’ मा सामावेश शीर्ष गीतलाई नयाँ स्वरूपमा तयार गरेको र दर्शकले रुचाउनुभएको जानकारी दिनुभयो । सोही मितिमा प्रदर्शन हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याउनुभएको छ । चलचित्रमा भिन्न हरिबाहादुरसँग दर्शक परिचित हुनुहुने अभिनेता आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,“हरिबहादुरका रुपमा शृङ्खला र मञ्चमा प्रस्तुत भएको छु । यसपटक चलचित्रमा त्यही पात्रलाई ल्याउँदा फरक गरेको छु । यसपटक हरिबहादुरले रुवाउनेसँगै रुन्छ पनि । सामाजिक विकृतिलाई उक्त पात्रले व्यङ्ग्य गरेको छ । यसमा पारिवारिकसँगै देशको अवस्थालाई पनि चित्रण गरेका छौँ । ती सब घटनाक्रम हरिबहादुर पात्रमार्फत देखाएका छौँ ।”
उक्त चलचित्रको पटकथा स्वयं अभिनेता आचार्यले नै लेख्नुभएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले निर्देशन गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियाङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
निर्माता सन्तोष सेनले निर्देशन गर्नुभएको चलचित्र ‘बलिदान’ नव अभिनेता समीर भट्टमा केन्द्रित छ । अभिनेता भट्टले अभिनय गर्नुभएको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्र झैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान (हिंसक) रहेको छ । कथावस्तुभन्दा पनि प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायत कलाकारले अभिनय गर्नुभएको छ ।
पछिल्ला वर्षमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन तय गरेका हुन् । विदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्वलाई केन्द्रित गर्दै प्रदर्शन घोषणा हुनेक्रम बढेको चलचित्र निर्माता तथा नेपाल चलचित्र सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले बताउनुभयो ।
“कथावस्तु राम्रो नहुने हो भने बिदामा पनि चलचित्रको व्यापार कमजोर नै भएको पाइन्छ । तर, दर्शकले चलचित्र राम्रो छ भने प्रचार गर्नेगरी मन परेमा त्यसको व्यापार सामान्य समयभन्दा बिदा भनौ वा चाडपर्वमा धेरै हुन्छ । त्यसैले केही वर्षयता निर्माताहरूले चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन घोषणा गरेको पाइन्छ । यद्यपि, राम्रो चलचित्र अन्य समयमा पनि चल्नेगरेको उदाहारण प्रशस्त छन्”, उहाँले भन्नुभयो । उहाँले नेपालमा रहेको ‘मल्टीप्लेक्स’बाहेकका चलचित्र भवनले ‘शो’ सङ्ख्या सुरुआती समयमा धान्न कठिनाइ देखिए पनि विस्तारै दर्शकको रोजाइअनुसार ‘शो’ बाँडफाँट हुने बताउनुभयो ।
गत वर्ष दसैँमा प्रदर्शन भएका तीन चलचित्रले रु ४० करोडको हाराहारीमा व्यापार (ग्रस कलेक्सन) गरेपछि यो दसैँमा पनि चलचित्रकर्मी हौसिएका छन् ।