राष्ट्र पुनर्निर्माणमा आर्थिक सहयोग गर्न मन्त्री घिसिङको आग्रह


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।
समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए।
अर्थ मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाबाट अमूल्य योगदान गरी यो अभियानमा सहभागी हुन आह्वान गरेको हो ।
मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको र उक्त कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको छ । त्यसका लागि सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको खाता नं १९६०१००१०२०७०००४ मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद्को यही असोज ५ को बैठकको निर्णयअनुसार यस्तो आह्वान गरेको जनाएको छ ।
मन्त्रालयले भनेको छ, ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको र उक्त गठन आदेशले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापना कार्यका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदानका लागि नेपाल सरकार आह्वान गर्दछ ।’ ‘जेनजी’ आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको जनाउँदै मन्त्रालयले त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायतका कार्यलाई भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको प्रस्ट पारेको छ ।