जुम्लामा १० करोड बढीका भेडा तथा खसीबोकाको कारोबार


जुम्ला, २१ असोजः जुम्लामा यसवर्षको दसैँमा रु १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट यसवर्ष रु १० करोड रकम बराबरको कारोबार भएको चन्दननाथ नगरपालिकाअन्तर्गत पशुपक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कारोबार भएको उक्त रकममध्ये भेडातर्फ रु नौ करोड ३४ लाख ८८ हजार तथा रु ३७ लाख ४० हजारको खसी, बोका खरिद बिक्री भएको हो । चन्दननाथ नगरपालिकामा भने रु २६ लाख ७७ हजारको राँगा, भैँसीसमेत कारोबार भएको छ ।” यस वर्षको दसैँमा जुम्लामा पाँच हजार ८४३ वटा भेडा बिक्री भएको तथ्याङ्क छ ।
यसैगरी, २५६ खसी र ६३ राँगा, भैँसी खरिद बिक्री भएको छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य रु २३ हजार, न्यूनतम मूल्य रु नौ हजार र औसत मूल्य रु १६ हजार तोकिएको प्रमुख रावतले जानकारी दिनुभयो ।
त्यस्तै, खसीको अधिकतम मुल्य रु २२ हजार, न्यूनतम मुल्य आठ हजार र औसत मूल्य रु १५ हजार रहेको छ भने राँगो, भैँसीको अधिकतम मुल्य रु ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औसत मूल्य रु ४२ हजार ५०० रहेको थियो ।
जुम्लामा मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा, राँगा, भैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगा, भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखाले जनाएको छ ।
गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औसत रुपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारी बताउछन् । विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । स्थानीय पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा रहेका छन् ।