राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी


मोरङ २५ असोजः राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व रु ५७ करोड ३८ लाख पुगेको छ । आज यहाँ आयोजित संस्थाको २७औँ वार्षिक साधारणसभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको जानकारी दिइयो ।
अध्यक्ष जीवन काफ्लेले संस्थाको अघिल्लो आव २०८०/८१ मा रु ४८ करोड चार लाख रहेकामा गत आवमा त्यसमा सुधार गर्न सफल भइएको र चालु आव २०८२/८३ मा यसलाई वृद्धि गरेर रु ६३ करोड ९० लाख १७ हजार ३०२ पुर्याइने लक्ष्य रहेको बताउनुभयो । गत आवमा वार्षिक लक्ष्यको ९४ प्रतिशत अर्थात् रु ५१ करोड ४३ लाख पाँच हजार ५६९ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, सहकारीको निक्षेप रु ४४ करोड ४३ लाख ११ हजार ७०९ रहेको छ भने ऋण लगानी रु ३५ करोड ८८ लाख ७२ हजार ९९४ रहेको छ । विसं २०५५ साउन ४ मा स्थापित सहकारीमा हाल एक हजार ८९३ जना शेयर सदस्य रहेका छन् ।
यस सहकारीले गत आवमा नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत प्राप्त गरेको संस्थाका सचिव ओमराज सुवेदीले बताउनुभयो ।
यसैबीच यहाँ एक पत्रकारसहित तीन जनालाई नगदसहित पुरस्कृत गरिएको छ । किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी सङ्गठनकी पूर्वउपाध्यक्ष इन्दिरा रिजाल (काठमाडौँ), दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर), हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ ।
निजामती कर्मचारी सङ्गठनकी केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्यलगायतले तीनै जनालाई पुरस्कार प्रदान गर्नुभयो । सहकारीले ७५ वर्षमाथिका ज्येष्ठ सदस्य तथा कक्षा १२ र एसइईमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरेको छ ।