`

विपिनको अवस्था अझै अज्ञात, बन्धक रिहाइ गर्न हमासले माग्यो थप समय

Nepal One HD २६ असोज २०८२ १२:३३
बिशेष

काठमाडौं । इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन् । यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् ।राजदूत पण्डितले भने, ‘विपिनको अवस्था अझै अज्ञात छ र उनको अवस्था कस्तो छ भन्ने थाहा हुन सकेको छैन ।’

मिडियाहरुमा विपिनबारे विभिन्न समाचार आइरहेकाले आफूले प्रधानमन्त्री कार्यालयमा बुझेको र त्यहाँका अधिकारीहरुले विपिनको अवस्था अझै थाहा हुन नसकेको बताएको पण्डितले जानकारी दिएका छन् । उनले भने, ‘विपिनबारे केही नयाँ जानकारी आए सबैभन्दा पहिले तपाईंलाई खबर गर्छौं भनेर इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकृतहरुले भनेका छन् ।’ उनले आधिकारिक निकायबाट पुष्टि नभई समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपु¥याउन अनुरोध समेत गरेका छन् ।

यसैबीच हमासले बन्धकहरू रिहाइका लागि थप समय मागेको छ । इजरायल र हमासबीच भएको सम्झौताअनुसार स्थानीय समय शुक्रबार दिउँसोदेखि गाजामा युद्धविराम लागु भएको छ भने त्यसको ७२ घण्टाभित्र हमासले सबै ४८ बन्धक रिहा गर्नुपर्नेछ ।
स्थानीय समयअनुसार युद्धविराम लागु भएको ७२ घण्टा भनेको सोमबार स्थानीय समय दिउँसो १२ बजे (नेपाली समय दिउँसो २ः४५ ) सम्म जीवित र मृत सबै ४८ बन्धक रिहा गरिसक्नु पर्ने हुन्छ । तर यस अवधिमा सबै बन्धक हस्तान्तरण गर्न नसकिने भन्दै हमासले थप समय मागेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *