धनुषाका छ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन


जनकपुरधाम, २६ असोजः धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षकले तलबलगायत सुविधा पाएका छैनन् । यी पालिकामा नगरसभा नभएकाले कर्मचारीले चाडपर्वको समयमा पनि तलब भत्ता पाउनबाट वञ्चित भएका हुन् ।
जिल्लाको मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिकाको सभा बस्न सकेको छैन । पालिकामा जनप्रतिनिधिहरूका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिनुभयो ।
अन्य पालिकामा समेत विवाद रहेकामा समन्वय समितिको पहिलपछि सभा भएका र छ पालिकामा भने विभिन्न चरणमा छलफल भए पनि नियमित वार्षिक अधिवेशन हुन नसकेको उहाँले बताउनुभयो ।
“यहाँका अधिकांश पालिकामा कुनै एक दलको बहुमत छैन । त्यसैले हरेक वर्ष योजना बाँडफाँड तथा सञ्चालनका लागि आर्थिक स्रोतको बाँडफाँडमा विवाद हुने गरेको छ । स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्तासहितको कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाउने कानुनी प्रावधान रहेको छ । त्यसैले कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन्”, समन्वय समिति प्रमुख मण्डलले भन्नुभयो ।