`

फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

Nepal One HD २७ असोज २०८२ ८:०३
प्रमुख खबर
पाँचथर । पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ ।
गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको हो । डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जिनीयर मुकेश शाहले जानकारी दिए ।
यस सडकले फिदिम नगरपालिका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिका–३ देखि ८ लाई सदरमुकामसम्म जोड्छ । फेमे खोलामा सडक अवरुद्ध भएपछि खोलाको वारिपारी रहेका सवारीसाधनले यात्रुलाई गन्तब्यसम्म पुर्‍याउँदै आएका छन् ।
 यात्रुले करिब १५ मिनेट पैदलयात्रा गरेर खोला पार गर्दै आएका छन् । गत बिहीबारदेखि डाइभर्सन र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । सडक पुल बगेपछि यहाँ अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकोमा गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
उक्त स्थायी डाइभर्सन असोज १८ गतेको बाढीले बगाएको हो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावका कारण काम हुन सकेको छैन । बाढीले डाइभर्सन बगाएपछि यात्रुहरु आवतजावत गर्नका लागि नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ । तर सामग्री ढुवानी तथा स्थानीय उत्पादनको निकासी, बिरामी तथा असक्तलाई खोला पार गराउन समस्या पर्ने गरेको फिदिम–११ का लोकबहादुर बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *