टीओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट बरामद पेस्तोल ‘नक्कली’


काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका युवकको घरबाट बरामद पेस्तोल नक्कली भएको खुलेको छ । बौद्धस्थित तेन्जिङ दावाको घरबाट बरामद पेस्तोल नक्कली भएको खुलेको काठमाडौँका एसएसपी रमेश थापाले बताए ।
उनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । तेन्जिङको ज्याकेटमा लेखिएको टीओबीको अर्थ ‘तिब्बतीयन ओरिजनल ब्लड’ रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बिजुली बजार पुलमा अर्का एक जना युवकले दिएको पेस्तोल तेन्जिङले कम्मरमा भिरेर बाइक चलाउँदै हिँडेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । भिडियोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ । पेस्तोल बोक्ने काठमाडौं ३० वर्षीय तेन्जेन दावामाथि अनुसन्धान गर्ने क्रममा उक्त कुरा खुलेको एक अनुसन्धान अधिकृतले बताए । ‘भाइरल भिडियो जेनजी आन्दोलनको नभएको पुष्टि भयो । उनले भिडियो खिचेको मिति र टिकटकमा पोस्ट भएको मिति दाँज्दा भिडियो पूरानो रहेको पाइयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीले भने ।