`

भोटेकोशी पावर कम्पनीले भन्यो–जेनजीसँग निःशुल्क शेयर दिने सहमति भएको छैन

Nepal One HD २९ असोज २०८२ १३:४१
अर्थ समाचार

काठमाडौँ । भोटेकोशी पावर कम्पनी प्रालिले जेनजीसँग निःशुल्क शेयर दिने सहमति नभएको दावी गरेको छ । कम्पनीले सिन्धुपाल्चोकका स्थानीयको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग निःशुल्क शेयर वितरण गर्ने कुनै प्रकारको सहमति नभएको स्पष्ट पारेको हो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै सो कम्पनीले भनेको छ, ‘भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनीबीच निःशुल्क शेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’ कम्पनीका अनुसार, जेनजी पब्लिक इन्भेस्टमेन्टले भोटेकोशी पावर कम्पनीका १० प्रतिशत शेयर खरिदका लागि आवेदन दिने तयारी गर्दैछ । जसअन्तर्गत जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उक्त पब्लिक कम्पनीको शेयर धनी बनाइनेछ ।

कम्पनीले प्रतिशेयर अङ्कित मूल्य १०० का दरले १० प्रतिशत शेयर त्यस कम्पनीलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले भनेको छ, ‘यसरी शेयर खरिद गर्ने व्यवस्था निःशुल्क शेयर वितरण होइन । त्यसैले यस विषयमा भ्रममा नपर्न अनुरोध गर्छ ।’ शेयर खरिदका लागि आवश्यक रकम उक्त पब्लिक लिमिटेड कम्पनीले बैंकबाट ऋणस्वरूप लिने र सो ऋणको जमानी व्यवस्था मात्र बीकेपीसीले गर्ने सहमति भएको कम्पनीले स्पष्ट पारेको छ । भोटेकोशी पावरका अनुसार, आयोजना निर्माण सम्पन्न भइसकेकाले कम्पनीले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट प्राप्त रकम पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण र ब्याज तिर्न प्रयोग गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *