`

न्यून स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई आन्दोलनले क्षति पुर्‍यायो : गृहमन्त्री

Nepal One HD ३१ असोज २०८२ १०:४९
बिशेष

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताएका छन् । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए । उनले सरकारले प्रहरीलाई स्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताए ।

नेपाल प्रहरी कानून कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको बताए । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व भएको जिकिर गरे । जेन—जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र स्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बताए ।

उनले भने, ‘समाजका हरेक घटनामा प्रहरीले नै फस्र्ट रेस्पोण्डरको रुपमा काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभइ सरकारप्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ । यही भाद्र २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व हो । जसमा नेपाल प्रहरीका होनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गर्नु भएको छ । साथै प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएका छन् । त्यसैत अभाव झन त्यसमा पनि यस किसिमको क्षतिले नेपाल प्रहरीलाई मात्रै होइन, आम नागरिकको जीवनमा पनि प्रभाव पारेको छ ।’

उनले भने, ‘न्युन साधन, स्रोतबाट कार्य सम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्‍याएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने दायित्व पनि छ । शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालयर वर्तमान सरकार सचेत रहेको छ । प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु ।’ गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताए । यसले अपराध अनुसन्धान कार्य थप चुनौतिपूर्ण बन्दै गएको बताए । नेपाल प्रहरीलाई साधन, स्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *