`

नेपाल प्रहरीका १० जना एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको गृह मन्त्रालयको बढुवा समिति सचिवालय बैठकले १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो ।

पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका राम प्रकाश शाह बढुवा सिफारिस भएका छन् । यस्तै बढुवा सिफारिस हुनेमा भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा छन् ।
हेर्नुस् सूची

भक्तपुरमा युवकले हाने आफ्नै कञ्चटमा गोली

भक्तपुर । भक्तपुरको ठिमीमा एक युवकले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार आफ्नै कञ्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई रहेका छन् । उनी सुरक्षाकर्मी हुन् वा सर्वसाधारण हुन् भन्ने यकिन हुन बाँकी छ । घटनास्थलमा अहिले प्रहरी वृत्त ठीमीको टोली पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

मध्यपुर ठिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ । दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा ४० वर्षीय राईले कोठाको चुकुल लगाएर आफैंले कञ्चटमा गोली हानेको प्रहरीले बताएको छ । जिएस–५ लेखिएको जर्मन बन्दुकले गोली हानेको पाइएको प्रहरीले बताएको छ ।

 

 

अवकासपछि असईमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल प्रहरीको एक प्रहरी सहायक निरीक्षक (असई) ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भइ कलंकीमा रहेका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेरै प्रहरी जवानबाट सेवा प्रवेश गरी असईमा रिर्टायड भएर पेन्सन सुविधा समेत लिइरहेको खुल्न आएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी व्यक्तिगत फाइदा लिएकाले शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरी कारवाही गर्न उजुरी परेको थियो । सोही उजुरी अनुसन्धान गर्ने क्रममा भट्टले जवानमा प्रवेश गर्ने बखत नै नक्कली सर्टिफिकेट पेश गरी जागिर खाएको खुल्न आएको हो ।

अनुसन्धानको क्रममा भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने NAME: CHAKAR DEB BHATT, ROLL NO. 660057, YEAR: 1991, SENIOR SCHOOL CERTIFICATE EXAMINATION, 1991 को MARKS STATEMENT र PROVISIONAL CERTIFICATE  लगायतका शैक्षिक योग्यता झुट्टा रहेको पाइएको हो । सोही झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्रहरी जवान पदमा २०५० साल चैत २० गते नियुक्ती लिई प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई हाल नेपाल सरकारबाट निवृत्तभरण लिइरहेका थिए ।

उनले निवृत्तभरण हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि हुन आएको हुँदा उनको उक्त कार्य साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा निजलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२तथा दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

 

 

 

गैरहाजिर २० प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २० जना प्रहरी कर्मचारी लामो समयदेखि कार्यालय सम्पर्कबाट बाहिर रहेको खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये केही कर्मचारी असोज महिनादेखि र केही कात्तिक महिनादेखि कुनै जानकारी नदिई आफैं गैरहाजिर रहँदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो । सूचनामा उल्लेख भएअनुसार सम्बन्धित प्रहरी कर्मचारीको खोजतलास गरिएको, प्रहरी नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गरिएको तथा सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक रूपमा सूचना जारी गर्नुपरेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर रहनुको स्पष्ट कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित नभए कडा कारबाही गरिनेछ । तोकिएको समयसीमाभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम १०९ को देहाय (ख) १ अनुसार उनीहरूलाई सेवाबाट हटाइने चेतावनी दिइएको छ ।

प्रहरी संगठनले अनुशासन, जिम्मेवारी र नियमित उपस्थितिलाई अत्यन्त महत्वपूर्ण मानेको उल्लेख गर्दै लामो समयसम्म बिना जानकारी गैरहाजिर रहनु संगठनात्मक मर्यादा र सेवाको दायित्वविपरीत हुने जनाएको छ । यस किसिमको कार्यले प्रहरी सेवाको विश्वसनीयता र कार्यक्षमतामा असर पर्ने भन्दै प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति सचेत रहन आग्रह गरेको छ । साथै, वैध कारणले उपस्थित हुन नसकेको अवस्थामा समयमै कार्यालयलाई जानकारी गराई कानुनी प्रक्रिया पूरा गर्नुपर्ने पनि सूचनामार्फत स्पष्ट पारिएको छ ।

पूर्व एआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश गर्दै

काठमाडौं । नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । रास्वपाको केन्द्रीय कार्यालयमा आज पूर्व एआइजी पोखरेलसहितलाई आजै पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आइजीपी बनाएको थियो ।

धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडा बढी रकम खर्च गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा डीआइजीबाट एकल एआइजी बढुवा भएका पोखरेल आइजीपी नियुक्तिमा अन्यायमा परेको भन्दै सर्वोच्च अदालत गएका थिए । तर अदालतबाट उनको पक्षमा आदेश नआएपछि राजीनामा दिएर घर गएका थिए ।

उनले आइजीपी बन्न आफूसँग त्यसबेला आरजु देउवाको तर्फबाट केही मानिसले रकमको बार्गेनिङ गरेको समेत आरोप लगाएका थिए । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका पोखरेललाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग नाता जोडेर पनि तत्कालीन सरकारले पूर्वाग्रह साँधेको आरोप थियो । रास्वपा प्रवेशपछि उनी आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बन्न सक्ने अनुमान पनि गरिएको छ ।

प्रहरीका तीन डीआईजीको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार तीन जना डीआईजी सरुवाको निर्णय गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी विनोद घिमिरेले पाएका छन् । यसअघिका प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै कोशी प्रदेशमा प्रहरी प्रमुख रिक्त भएको थियो । कार्कीलाई भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय भएको छ ।

कोशी प्रदेशको जिम्मेवारी पाएका घिमिरे प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा केही हप्ता अघि मात्रै सरुवा भएका थिए । त्यसअघि उनी प्रहरीको केन्द्रीय प्रवक्ता थिए । प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ ।

कार्की एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (सोमबार) को मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख समेत रहेका कार्की पहिलो डिआईजी थिए । काठमाडौँ उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो । नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी रहेकोमा हाल ७ जना कार्यरत छन् । एआईजीको दरबन्दी प्रहरी प्रधान कार्यालयमा ५ जना र ३ जनाको बाहिर छ ।

मुख्यालयमा मानवस्रोत विकास विभाग, प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग छन् । यस्तै प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र सीआईबीमा पनि एआईजी नै कार्यरत छन् । एआईजीकै दरबन्दी रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय भने प्रमुखबिहीन छ ।

पहिलो दिनमै आईजीपी कार्कीले उठाए चार विषय, दर्ज्यानी चिह्न लगाएर बोल्दा ‘भक्कानिए’

काठमाडौं । नेपाल प्रहरीका ३३ औं महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएपछि पहिलो दिनमै आफूले पाएको जिम्मेवारीलाई केवल पद होइन, ‘जनताको विश्वास पुनः स्थापना गर्ने अवसर’ का रूपमा व्याख्या गरे । सिंहदरबारमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले एकातिर प्रहरीको मनोबल र सुशासनका सवाल उठाए भने अर्कातिर अमर प्रहरीको सम्झनामा बोल्दा भावनाले भरिएर गला अवरुद्ध भयो ।

‘वीर प्रहरीको सम्झना’ मा भक्कानिए आईजीपी
कार्यक्रमको प्रारम्भमै उनले राष्ट्र र जनताको सेवामा वीरगति प्राप्त गरेका प्रहरीलाई सम्झिँदै भने, ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका…’ त्यति भन्नासाथ आवाज रोकिन पुग्यो । आँखा रसाए, टिस्यु पेपरले आँशु पुछे र छोटो मौनतापछि फेरि सम्बोधन सुरु गरे । भावनात्मक क्षणबीच उनले प्रतिज्ञा गरे, ‘प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र नागरिकप्रतिको सेवा भावलाई सर्वोच्च प्राथमिकता दिनेछु ।’

चार प्रमुख एजेण्डा : संगठन सुधारको ‘रोडम्याप’
आईजीपी कार्कीले गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाउने कार्यक्रममै सरकार समक्ष चार ठूला मुद्दा प्रस्तुत गरे ।
नीतिगत स्पष्टता र कार्यगत स्वायत्तता – प्रहरी परिचालनमा स्पष्ट नीति र स्वायत्त अधिकार आवश्यक रहेको उनको भनाइ छ ।
सेवा विशिष्टकरण र वृत्ति विकास–प्रहरीको पेशागत उन्नति अनुमानयोग्य र न्यायोचित हुनुपर्नेमा उनले जोड दिए ।

प्रहरी सहचारी नीति कार्यान्वयन–लामो समयदेखि रोकिएको प्रहरी सहचारी राख्ने विषय तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे ।
स्टाफ कलेजको कानूनी मान्यता– सुरु भइसकेको प्रहरी स्टाफ कलेजलाई कानूनी रूपमा संस्थागत गर्नुपर्ने उनले माग गरे ।

संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापना

कार्कीले प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनस्र्थापना, आवश्यक हतियार र स्रोत सुनिश्चितता तथा मनोबल वृद्धि एकसाथ अघि बढाउनुपर्ने बताए । उनका अनुसार अहिले देशमा लागुपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका चुनौतीहरू तीव्र छन्, जसको समाधानका लागि ‘सुदृढ संरचना र उच्च मनोबलयुक्त प्रहरी’ अपरिहार्य छ ।

‘साझा जिम्मेवारी’ काे उद्घोष

आईजीपी कार्कीले नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, समुदाय र गैरसरकारी संस्थासँग सहकार्य गर्दै प्रहरी संगठनलाई ‘जनताको सुरक्षा र सुशासनको साझा जिम्मेवारी’ मा उभ्याउने प्रतिवद्धता जनाए । ‘सूचना प्रविधिको युगमा अपराधका स्वरूप बदलिएका छन्, त्यसैले प्रहरीको सोच र सीप पनि रुपान्तरण हुनुपर्छ’, उनले भने ।

खापुङबाट कार्कीमा कमाण्ड हस्तान्तरण
पूर्व आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्कीको हातमा आएको हो । मन्त्रिपरिषद्ले कात्तिक २५ गतेकै बैठकमा उनलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो ।

दुई वर्षे कार्यकालमा ‘सुधारको नक्सा’
साढे दुई वर्षका लागि प्रहरी नेतृत्व सम्हाल्दै कार्कीले आफ्नो पहिलो दिनमै संगठनलाई सुदृढ, पारदर्शी र नागरिकमुखी बनाउने योजनाको संकेत दिएका छन् । उनले भने, ‘संगठनमा सामूहिकता, सेवामा सत्यनिष्ठा र नेतृत्वमा उत्तरदायित्व—यही मेरो मार्गदर्शन हो ।’

 

दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए । कार्की पहिलो नम्बरका एआईजी हुन्। कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्। उनी ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

उनी ०६४ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए। एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए । डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

 

एकै पटक एक हजार ८४२ प्रहरी जवानले निकाले नाम (नतिजासहित)

काठमाडौं । नेपाल प्रहरीको जवान पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०८१ मंसिर २१ गते प्रकाशित विज्ञापनअनुसार खुला र विभिन्न समूहमा गरी एक हजार ८४२ जना जवानका लागि सिफारिस भएका हुन् । नियुक्तिका लागि सिफारिस भएकाहरुले मंसिर १ गते आफूले प्राप्त गरेका विभिन्न प्रमाणपत्रसहित सम्बन्धित परिक्षा केन्द्रहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

हेर्नुस् सूची

 

 

प्रहरीका पाँच जना डीआईजीमा बढुवा, को कहाँ खटिए ?

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँचलाई डीआईजी बढुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारिस भएका थिए ।

बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ । यसअनुसार भुपेन्द्र खत्री सीआईबीमा, सानुराम भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरी इञ्चार्जलाई उपत्यका नछाड्न आदेश

काठमाडौं । नेपाल प्रहरीले भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इञ्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इञ्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुलका लागि बोलाउनु पर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।

यही कात्तिक १२ देखि १५ गतेसम्म काठमाडौँमा सबेको पार्टी केन्द्रीय समितिको ध्रवीकरण बैठकले यस्तो निष्कर्ष निकालेको सो पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ७६ जनाको ज्यान जानेगरी भएको जेनजी प्रदर्शनमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्री निवासलगायत सयौं सार्वजनिक भवन जलाइएको थियो ।

एसएसपी रानाभाटले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन् । रानाभाटले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएको प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । ‘उहाँले राजीनामा पत्र बुझाउनु भएको छ । अब यो पत्र गृह मन्त्रालय पठाउँछौँ,’ घिमिरेले भने ।

रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । उनी ६ महिनाअघि एसएसपीमा बढुवा भएका थिए । उनका ब्याचीहरू केही एसएसपी र केही एसपीमै कार्यरत छन् । उनले घरायसी कारण देखाउँदै राजीनामा बुझाएको र असन्तुष्ट हुने कुनै कारण नदेखिएको घिमिरे बताउँछन् ।

तीन युवकको डुबेर मृत्यु

रुपन्देही । रुपन्देहीमा लक्ष्मी मूर्ति विसर्जन गर्दा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार रूपन्देहीको गैंडहवा गाउँपालिका–६ सूर्यपुरास्थित सन्तेश्वर घाटमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार दिउँसो ३ बजेतिर तीन जना युवा खोलामा डुबेका थिए ।

खोलामा डुबेर मृत्यु हुनेहरुमा मायादेवी गाउँपालिका वडा नम्बर १ का १५ वर्षीय अजय हरिजन, १८ वर्षीय दीपु हरिजन र २५ वर्षीय रोहित हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

दिउँसो दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाटमा मूर्ति विसर्जन गर्ने क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरू गरेका थिए । खोजी गर्दै जाँदा घटनास्थल भन्दा करिब २ सय मिटर तल तीनै जनाको शव फेला परेको कार्कीले बताए ।

 

यसरी मनाइयो ७० औं प्रहरी दिवस (तस्वीरहरू)

काठमाडौं । आज नेपाल प्रहरीले ७० औं प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रूपमा कदर पत्रसहित सम्मान गरिएका छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड रानालाई

काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सम्मानित गरेका हुन् । दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट तेस्रो लगायतका विभिन्न पदक, पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

जेनजी आन्दोलनबाट देशले अकल्पनीय क्षति व्यहोर्नु पर्‍यो : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन—जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन् ।

शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल बताए ।

उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौति र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिवद्ध रहेको बताए । नेपाल प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने स्पष्ट पारे । विभिन्न ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताए । यसको पूर्तिका लागि २५ हजार भन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए ।

उनले भने, ‘राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल भएको छ ।राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौति र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिवद्ध रहेको छ । गत भदौ २३ र २४ गतेको जेन जी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनु भएका अन्य दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दछु ।’

उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको बताए । प्रहरीभित्र पनि शुद्धिकरण र सुधारका प्रशस्त आवश्यकताहरु रहेको बताए । नागरिकले तिरेको करबाट खरिद गरिएको पोशाक लगाएर नागरिकमाथि हुने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने बताए ।

 

 

न्यून स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई आन्दोलनले क्षति पुर्‍यायो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताएका छन् । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए । उनले सरकारले प्रहरीलाई स्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताए ।

नेपाल प्रहरी कानून कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको बताए । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व भएको जिकिर गरे । जेन—जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र स्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बताए ।

उनले भने, ‘समाजका हरेक घटनामा प्रहरीले नै फस्र्ट रेस्पोण्डरको रुपमा काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभइ सरकारप्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ । यही भाद्र २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व हो । जसमा नेपाल प्रहरीका होनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गर्नु भएको छ । साथै प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएका छन् । त्यसैत अभाव झन त्यसमा पनि यस किसिमको क्षतिले नेपाल प्रहरीलाई मात्रै होइन, आम नागरिकको जीवनमा पनि प्रभाव पारेको छ ।’

उनले भने, ‘न्युन साधन, स्रोतबाट कार्य सम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्‍याएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने दायित्व पनि छ । शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालयर वर्तमान सरकार सचेत रहेको छ । प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु ।’ गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताए । यसले अपराध अनुसन्धान कार्य थप चुनौतिपूर्ण बन्दै गएको बताए । नेपाल प्रहरीलाई साधन, स्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताए ।

एकसाथ ६६५ इन्स्पेक्टरको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकसाथ ६६५ जना इन्स्पेक्टरको सरूवा गरेको छ । असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।

अक्षयकुमार रावललाई उपत्यका सशस्त्र प्रहरी गणबाट इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । त्यस्तै अच्युत गिरीलाई अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखाबाट इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया सरुवा गरिएको छ ।

हेर्नुस् सरुवा सूची

बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु, चार जनाको उद्धार

रौतहट । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ कि १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो।
सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेको बताइएको छ । डुबेकामध्ये चार जनाको स्थानीयले उद्धार गरेका थिए । मृत्यु भएका तीन जनाको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरी निकालेको छ ।

बढुवा भएका चार एआइजीको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका चार एआइजीको बढुवासँगै पदस्थापन भएको छ । एआइजी सुशीलसिंह राठौरलाई अपराध अनुसन्धान विभाग, उमाप्रसाद चतुर्वेदीलाई कार्य विभाग, हिमालयकुमार श्रेष्ठलाई प्रशासन विभाग र डम्बरबहादुर विकलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको पदस्थापन गरेको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न लगाइएको छ ।

चार डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (बिहीबार) बसेको मन्त्रीपरिषद् बैठकले रिक्त चार एआईजीमा बढुवाको निर्णय गरेको हो । असोज १२ गते बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको थियो ।

प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका हुन् । उनीहरु चारै जना डीआईजीको बरियतामा अगाडि थिए ।

बढुवा समितिले बरियता अनुसार नै बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा भएका चारै जना एआईजीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका थिए । यही टोलीका सिद्धिविक्रम शाह यसअघि नै एआईजी भइसकेका छन् । अब उनीहरुलाई कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागको जिम्मेवारी पाउने छन् । एआईजीका दरबन्दी भएका यी विभागहरु खाली छन् ।

 

जेनजी आन्दोलनको एक महिना : प्रहरीका आठ सय बढी हतियार अझै बेपत्ता

काठमाडौं । भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते सुरु भएको जेनजी आन्दोलनले मुलुकको राजनीतिक अवस्था नै फेरिदियो । ७३ जनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, संसद् विघटन भयो र गैरराजनीतिक व्यक्तिहरूले नेतृत्व सम्हाले ।

तर, आन्दोलनको एक महिना बितिसक्दा पनि त्यसले निम्त्याएको सुरक्षात्मक संकटको अवस्था अझै सुध्रिएको छैन । देशभरका प्रहरी इकाइबाट आन्दोलनकारीहरूले लुटेका करिब ११ सय हतियारमध्ये हालसम्म मात्र तीन सयभन्दा बढी फिर्ता भएका छन् । प्रहरीका अनुसार ८ सय बढी हतियार अझै बेपत्ता छन् ।

लुटिएका हतियार, जलाइएका भवनहरू
आन्दोलनको क्रममा आन्दोलनकारीहरूले प्रहरी कार्यालयहरूमा आगजनी गर्दै हतियार, बर्दी र अन्य सरकारी सामग्री लुटेका थिए । धेरैजसो घटना भिडियो र तस्वीरमा स्पष्ट रूपमा देखिएका छन् । सिंहदरबारदेखि लिएर स्थानीय प्रहरी चौकीसम्म जलेर खरानी भए ।
ती घटनामा तीन जना प्रहरीको ज्यान गएको थियो भने कयौं घाइते भए । केहीले त आत्मसमर्पण गरेर ज्यान जोगाउनु परेको थियो । अहिले पनि धेरै सुरक्षाकर्मीहरू हतियारविहीन अवस्थामा ड्युटीमा खटिन विवश छन् ।

राजनीतिक निर्देशनले अनुसन्धान रोकिएको प्रहरीको गुनासो
प्रहरीले फोटो, भिडियो र प्रत्यक्षदर्शीको आधारमा दोषी पहिचान गरी कारबाहीको तयारी गरे पनि गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनले प्रक्रिया रोकिएको छ । गृह मन्त्रालयले सुशीला कार्की नेतृत्वको सरकारको आदेशअनुसार आन्दोलनकारीप्रति कडा कदम चाल्न रोक लगाएको छ । ‘आन्दोलनकारीहरूले प्रहरीलाई कुटेर मार्ने, खोलामा हाल्ने, सरकारी संरचना ध्वस्त पार्ने कार्यमा संलग्न भएको देखिए पनि तिनलाई कारबाही नगर्न भनिएको छ’, एक प्रहरी अधिकृतको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ ।

प्रहरी निरीह, सेवा खण्डहरबाट
आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी भवनहरूबाट नै अस्थायी रूपमा सेवा प्रवाह भइरहेको छ । आगजनी र तोडफोडका कारण भवनहरू प्रयोगविहीन छन् । यता सुरक्षा चुनौती बढिरहँदा प्रहरी हतियार बिनै गस्तीमा जान बाध्य छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार लुटिएका हतियार फिर्ता ल्याउने काम तीव्र रूपमा भइरहेको छ । सेनाले केही हतियार बरामद गरिसकेको छ भने प्रहरीले पनि केही पुनः प्राप्त गरेको छ । तर अझै ठूलो संख्या हराइरहेको उनले बताए ।

संवेदनशील सुरक्षा अवस्था र संस्थागत असर
प्रहरी संस्थामाथिको आघात मात्र नभई, राज्यको समग्र सुरक्षा संयन्त्रमै जेनजी आन्दोलनले गम्भीर असर पारेको छ । राजनीतिक नेतृत्वको स्पष्ट निर्देशन अभाव, दोषीलाई कारबाही नगर्ने नीति, र हतियार नियन्त्रणको असफलताले भावी सुरक्षा चुनौती बढाउने देखिन्छ ।
राजनीतिक विश्लेषकहरू यो अवस्थालाई गम्भीर रूपमा लिँदै आएका छन् । ‘यदि राज्यले यस्ता घटनामा संयम देखाउने नाममा कानूनी प्रक्रिया रोक्छ भने, त्यो अन्यायप्रतिको प्रोत्साहन र सुरक्षातन्त्रको विघटन हो’, एक विश्लेषकले बताए ।

 

गुडिरहेको माइक्रो बसभित्रै युवक मृत भेटिए

जुम्ला । जुम्लामा गुडिरहेको माइक्रो बसभित्रै एक युवक मृत भेटिएका छन् । बुधबार राति साढे ८ बजे हिमा गाउँपालिका–१, आर्चाय गाउँका २२ वर्षीय गणेश रावत गुडिरहेको गाडीभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ती युवक मुगुबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ख ११८०० एसएलएम गाडीमा यात्रा गरिरहेका थिए । जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले घरमा ओर्लिनु पर्ने बेलामा हेर्दा युवक मृत भेटिएको बताए ।

उनले भने, ‘गाडी मुगुबाट सुर्खेत जाँदै रहेछ । गाडी सानो भएकाले धेरै जनाले यात्रा गरिरनु भएको भन्ने बुझिएको छ । मृतकले मादक पदार्थ सेवन गरेका रहेछन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

पोस्टमार्टमका लागि युवकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ । डीएसपी रेग्मीले मेडिकल रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा पाइने बताएका छन् ।

सातदोबाटोका डीएसपी यादवको खोसियो जिम्मेवारी

काठमाडौं । प्रहरी वृत्त सातदोबाटो ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ । सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो । यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ । उनको ठाउँमा जिल्ला प्रहरी परिसर काडमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ ।

 

१८ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि सम्पर्कविहीन १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आग्रह गरेको छ ।

कानुन शाखामार्फत मंगलबार सार्वजनिक गरिएको सूचनामा ती प्रहरी कर्मचारीलाई तत्काल आफ्नो कार्यस्थलमा हाजिर हुन निर्देशन दिइएको हो । सूचनामा भनिएको छ, ‘आफूखुसी कार्यालयमा गैरहाजिर रही खोजतलास गर्दा समेत सम्पर्कमा नआएको र प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि हाजिर नभएकाले यो सूचना प्रकाशित गरिएको हो ।’

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर भई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ । सूचनामा थप चेतावनी दिइएको छ कि तोकिएको म्यादभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावली अनुसार आवश्यक अनुशासनात्मक कारबाहीका साथै सेवाबाट हटाइने प्रक्रिया अघि बढाइनेछ ।

हेर्नुस् सूचना

चार डीआईजी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सिफारिस गरिएको छ। चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाम, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल तथा विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको छ ।

हेर्नुस् सूची

नेपाल प्रहरीका एसपीहरुको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका केही एसएसपीको सरुवा गरेको छ । जेनजी आन्दोलनमा उपत्यका तीन जिल्लामध्ये काठमाडौं र भक्तपुरका प्रहरी प्रमुख हटाइएपछि ललितपुर प्रहरी प्रमुख पनि फेर्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालय पठाएर ललितपुरमा सीआईबीको आर्थिक अपराध अनुसन्धान महाशाखा प्रमुख होविन्द्र बोगटीलाई पठाइने भएको छ ।

सीआईबीमा कर्णाली प्रदेश प्रहरीबाट शिवकुमार श्रेष्ठ खटाइँदै छन् । जिम्मेवारी हेरफेरको खबर प्राप्त भइसकेको र आफू जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा रहेको ललितपुरका एसएसपी अधिकारीले जनाएका छन् ।

महाराजगञ्जमा प्रहरीको हत्या आरोपमा काभ्रेका युवक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । काभ्रेपलान्चोकका २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौँ परिसरका एक अधिकारीले जानकारी दिए ।

सीसीटीभी र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा प्रहरीले हत्यामा संलग्नहरूको पहिचान गरिसकेको जनाएको छ । तीमध्ये एक जनालाई पक्राउ गरेर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो।

आन्दोलनका क्रममा तीन प्रहरीको हत्या भएको थियो । तीमध्ये दुई जना महाराजगञ्ज वृत्तका प्रहरी हुन् । महाराजगञ्ज वृत्तमा मिलन राम र उत्तम थापालाई आन्दोलनकारीले कुटपिट गरेर हत्या गरेका थिए । अरू २२ जनालाई भित्रै थुनेर आगो लगाइ दिए पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

यस्तै अरू केही प्रहरीलाई पनि आन्दोलनकारीले कुटपिट गरेर घाइते बनाएका थिए । कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको पनि धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । यी घटनामा संलग्नहरूको पनि पहिचान गरिसकेको प्रहरीको भनाइ छ । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको दाबी छ । यस्तै प्रहरीका हातहतियार लुटपाट गर्ने, पोसाक लुटपाट र आगजनी गर्नेहरूको पनि प्रहरीले खोजी गरिरहेको छ । आन्दोलनमा प्रहरीका एक हजार बढी हतियार लुटपाट भएका छन् ।

पोखराकी युवती काठमाडौंको गेस्ट हाउसमा मृत फेला

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

 

तालिम केन्द्र परिसरमै प्रहरी जवान मृत्त भेटिए

काठमाडौं । नेपाल प्रहरीका एक जना जवान तालिम केन्द्र परिसरमै मृत भेटिएका छन् । बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत २४ वर्षीय श्याम चौधरी रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुण्डिएको अवस्थामा शनिबार फेला परेका हुन् ।

शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ‘उनको रातिको ड्युटी थियो कति बेला आत्महत्या गरे भन्ने यकिन भएन तर, बिहानपख तन्नाको पासो बनाएर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए,’ प्रहरी स्रोतले भन्यो ।

मृतक चौधरीका परिवारका सदस्यहरू आएपछि शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । चौधरी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं ३ का बासिन्दा हुन्। उनी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो ।

पौडिँदै टिकटक बनाइरहेका साथी डुबेपछि बचाउन खोज्दा अर्का युवकको पनि मृत्यु

रुपन्देही । रुपन्देहीमा सँगै पौडी खेल्न गएका साथी डुबेपछि उद्दार गर्न गएका अर्का युवकको पनि मृत्यु भएको छ । बुधबार दिउँसो गैडहवा गाउँपालिकास्थित गैडहवा तालमा स्थानीय पाँच युवाहरुको समूह गएको थियो ।

उनीहरुले टिकटक बनाउँदै पौडी खेलिरहेका थिए । पौडी खेल्न गएका सोही गाउँपालिकाको वडा नं १ असिधवाका १८ वर्षीय दिपेश थारु पौडने क्रममा डुबेपछि टिकटक बनाइरहेका उनका साथी १८ वर्षीय अरुण थारु उद्दारको लागि गएका थिए । तर अरुणले न त साथीको ज्यान बचाउन सके न त आफू बाहिर आउन सके ।

तालमा डुबेर दुवै जनाको मृत्यु भएको हो । गैडहवा–१ का वडाध्यक्ष प्रदीपकुमार चौधरीले पाँच जनाको समूहमा गएका युवाहरु टिकटक बनाउँदै पौडिदै गरेको समयमा एक जना डुबेको देखेपछि अर्को उद्दारका लागि गएको र दुवैको डुबेर मृत्यु भएको जानकारी दिए ।

‘उनीहरु गैडहवा तालमा पौडिदै टिकटक बनाउँदै रहेछन्, त्यहाँ गहिरो र तल माटो थियो, सायद तलको हिलोमा उनीहरुको खुट्टा गएको हुनुपर्छ, कि धेरै पौडिन नजानेकोले पनि हुनसक्छ’ उनले भने, ‘यहाँ धेरै पर्यटक आउने ठाउँ हो तर उनीहरु स्थानीय भए पनि यस्तो दुःखद घटना भयो, सिंगो गाउँ शोकाकुल भएको छ ।’

इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार दिउँसो करिब सबा ४ बजेतिर दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुबेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए । तर पहिले नै पानीमा डुबिसकेका दिपेशलाई उनले तान्न सकेनन् उल्टै अरुण पनि उनीसँगै डुबेका हुन् । मृतकहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

एकै पटक नेपाल प्रहरीका ९० डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकै पटक सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन् । एक साथ ४८ जना एसपी पनि सरुवा गरिएको छ ।

सरुवा हुनेहरूमा काठमाडौँ उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू छन् । केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन् ।

हेर्नुस् सरुवा सूची

प्रहरी कार्यालय जलाउँदा घाइते लामाको मृत्यु

पोखरा । जेनजी आन्दोलनमा क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जलाउँदै गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका तनहुँको भररपुर–१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो ।

उनी पोखरा–१६ बस्ने गरेका थिए । प्रहरी कार्यालयमा आगोको मुस्लो परेका उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । लामाको बिहान १२ बजे उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए । उनलाई ७० प्रतिशत जलेको अवस्थामा अस्पताल ल्याइपु¥याइएको अस्पतालका निर्देशक प्राडा प्रेमराज पंगेनीले जानकारी दिए ।

कास्कीका अधिकांश सरकारी कार्यालयहरु तेडफोड र आगजनी गरिसकेपछि आन्दोलनकर्मीहरु डोजरसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उग्र प्रदर्शन गरिरहेका आन्दोलनकर्मीहरु कार्यालयको गेट तोडफोड गर्दै प्रहरी कार्यालय छिरेका थिए ।

प्रहरी कार्यालयभित्र पनि तोडफोट, लुटपाट र आगजनी भएको थियो । आन्दोलनकर्मीले लुटेको केही हतियार प्रहरीले प्राप्तसमेत गरिसकेको र केही अझै बाँकी प्रहरीको भनाइ छ । प्रहरी कार्यालयभित्रै डोजर लिएर गएका युवामाथि सुरुमा गोली लागेको थियो । उनको उपचार भइरहेको छ ।

आन्दोलनकर्मीहरुले पोखरा रत्नचोकमा रहेको अभि इकयुपमेन्ट डिभिजन कार्यालयको डोजर, लोडर, स्काभेटर र टिप्पर निकालेर सडकमा चलाउँदै, तोडफोड गर्दै हिँडेका थिए । आन्दोलनकर्मीहरुले पोखरामा अधिकांश प्रमुख सरकारी निकाय तोडफोड र आगजनी गरेका छन् ।

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एकको मृत्यु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो ।

ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपप्रमुख अधिकारीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

यस्तै पूर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज बिहान राप्ती नगरपालिका–७ सिक्सग्रुपस्थित अमृतपानी खानेपानी तथा सरसफाइ समितिको चेम्बरभित्र स्थानीय ४० वषीय कमल घलेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले गर्‍यो आगजनी, लुटपाटका सबुद, भिडियो र तस्वीर पठाई दिन आग्रह

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएका घटनाहरूको तस्वीर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइ दिन आग्रह गरेको छ । प्रहरीले आज (शुक्रबार) सार्वजनिक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई (प्रहरी इमेल) [email protected] मा पठाई सहयोग गर्नु हुन अनुरोध गर्दछौं ।’

पठाउनेको गोपनियता कायम रहने पनि प्रहरीले स्पष्ट पारेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा देशको मुख्य प्रशासनिक भवन सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालतदेखि सरकारी कार्यालय, पार्टी कार्यालय व्यक्तिगत घर तथा व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी गरेर ध्वस्त पारिएको छ । आन्दोलनमा हालसम्म गरी ५१ जनाको ज्यान गएको छ । प्रहरीले गत चैत १५ को राजावादी प्रदर्शनमा उच्छृंखलता प्रदर्शन गर्ने सबैजसो मानिसको पहिचान गरी पक्राउ गरेको थियो । यसपटक त स्वयं प्रहरीका कार्यालय र व्यारेकमा अगजनी तथा तोडफोड भएको छ । हतियार, पोशाकदेखि मेसमा रहेका दाल, चामलसम्म लुटपाट भएका छन् ।

आन्दोलनका क्रममा खण्डहर बनाइएको भैंसेपाटीको प्रहरी प्रभाग स्थानीयको पहलमा पुनर्स्थापना

ललितपुर । ‘जेनजी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैंसेपाटीस्थित प्रहरी प्रभाग स्थानीयले पुनः स्थापना गरेका छन् । यही भदौ २३ र २४ गते ‘जेनजी’को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैंसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर नष्ट भएका थिए । प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मासहितको टोली अत्यावश्यक सामग्रीसहित बिहीबार अबेर प्रभागमा प्रवेश गरेको थियो ।

आन्दोलनकारीले गस्तीमा प्रयोग हुँदै आएको चारपाङ्ग्रे दुईवटा सवारीसाधन, केही मोटरसाइकल र कार्यालयका सबै सामान जलाएर नष्ट पारेका थिए । प्रभागमा हाजिर हुन आएका प्रहरी निरीक्षकसहितको टोलीलाई वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा २२ का वडाअध्यक्ष सागर तुलाधर र २१ नं वडाअध्यक्ष रवीन्द्र महर्जनसहित स्थानीयले स्वागत गरेका थिए ।

प्रहरी टोलीलाई स्वागत गरेसँगै जलेको भवन पुनः मर्मत गरी प्रयोगमा ल्याउनका लागि स्थानीयस्तरबाट स्थानीय सुमन महतको संयोजकत्वमा ११ जनाको समिति गठन गरिएको छ । समितिले स्थानीयस्तरबाट श्रमदान, चन्दा र विभिन्न संघसंस्थाबाट सहयोग जुटाई प्रभागलाई पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । आज ५० जनाभन्दा बढी स्थानीयहरू प्रभागको सरसफाइमा जुटेका छन् । झ्यालढोका मर्मत, रङरोगन, बत्ती एवं पानीको व्यवस्थासहित अन्य बन्दोबस्तीका सामग्री जुटाउन समिति लागिपरेको छ ।

प्रभागका प्रमुख शर्माका अनुसार हालसम्म स्थानीयबाट रु चार लाखभन्दा रकम संकलन भइसकेको छ । बजार सामान्य अवस्थामा फर्केसँगै बजारबाट सामग्री खरिद गरिने र प्रभागलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ । उनले भने, ‘विगतमा जस्तै जनताको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी आगामी दिनमा लागिपर्नेछ, त्यसका लागि जनस्तरबाट पहिले जस्तै सहयोग हुने विश्वास छ ।’ उनका अनुसार गस्तीमा जानका लागि प्रयोग हुने गरेका सबै सवारीसाधन जलेकाले स्थानीयस्तरबाट केही समयका लागि गाडीको व्यवस्था गर्ने तयारी भएको छ ।

ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नं २२ का सागर तुलाधर, वडा नं २१ का रवीन्द्र महर्जन र वडा नं १८ का दामोदर खड्काले २५–२५ हजार नगद सहयोग गरेका थिए । प्रभाग प्रमुख शर्माले वडाअध्यक्ष र स्थानीयको साथ, सहयोग तथा माया महत्वपूर्ण रहेको बताउँदै प्रहरी र स्थानीयको सहयोगले शान्तिसुरक्षा कायम गर्न सकिने विश्वास व्यक्त गरे ।

नक्खु कारागारका सबै कैदी–बन्दी फरार भएसँगै स्थानीयस्तरमा सुरक्षा चुनौती थपिएको र प्रहरी चौकीलाई चाँडो स्थापना गर्न जरूरी रहेको समितिका सदस्य एवं समाजसेवी देवेन्द्रकुमार गौतमले बताए । प्रभागको नेतृत्वमा ४३ जना प्रहरी, आठ जना ट्राफिक प्रहरी र फर्सिडोलको प्रहरी चौकीका अन्य आठ जना रहेका छन् ।

 

हतियार फिर्ता गर्नु, पोसाकको दुरुपयोग नगर्नु : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले जेनजी प्रदर्शनका क्रममा प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।

सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे उक्त हातहतियारलगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरेको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई अनुरोध गरेको छ ।

तीनकुनेमा एकै ठाउँ महिला–पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।

अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।

पोखरामा जलाइएको घरमा मृत भेटिएकी युवती दोलखाकी

पोखरा । पोखरामा जलाइएको घरमा मृत फेला परेकी युवती दोलखाको भएको पुष्टि भएको छ । दोलखाको वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको उनका छिमेकी पुष्कर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन् । उनको शव लिन भिनाजु र भाइ पोखरा गएका छन् । दोलखामा रहेका स्वस्थानीका बुबा आमा काठमाडौं जाँदै गरेको अधिकारीले जानकारी दिए । स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।