`

गैरहाजिर २० प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

Nepal One HD ११ पुष २०८२ ७:२२
समाचार

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २० जना प्रहरी कर्मचारी लामो समयदेखि कार्यालय सम्पर्कबाट बाहिर रहेको खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये केही कर्मचारी असोज महिनादेखि र केही कात्तिक महिनादेखि कुनै जानकारी नदिई आफैं गैरहाजिर रहँदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो । सूचनामा उल्लेख भएअनुसार सम्बन्धित प्रहरी कर्मचारीको खोजतलास गरिएको, प्रहरी नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गरिएको तथा सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक रूपमा सूचना जारी गर्नुपरेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर रहनुको स्पष्ट कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित नभए कडा कारबाही गरिनेछ । तोकिएको समयसीमाभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम १०९ को देहाय (ख) १ अनुसार उनीहरूलाई सेवाबाट हटाइने चेतावनी दिइएको छ ।

प्रहरी संगठनले अनुशासन, जिम्मेवारी र नियमित उपस्थितिलाई अत्यन्त महत्वपूर्ण मानेको उल्लेख गर्दै लामो समयसम्म बिना जानकारी गैरहाजिर रहनु संगठनात्मक मर्यादा र सेवाको दायित्वविपरीत हुने जनाएको छ । यस किसिमको कार्यले प्रहरी सेवाको विश्वसनीयता र कार्यक्षमतामा असर पर्ने भन्दै प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति सचेत रहन आग्रह गरेको छ । साथै, वैध कारणले उपस्थित हुन नसकेको अवस्थामा समयमै कार्यालयलाई जानकारी गराई कानुनी प्रक्रिया पूरा गर्नुपर्ने पनि सूचनामार्फत स्पष्ट पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *