`

महाराजगञ्जमा प्रहरीको हत्या आरोपमा काभ्रेका युवक पक्राउ

Nepal One HD ७ असोज २०८२ १६:०४
अपराध

काठमाडौं । जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । काभ्रेपलान्चोकका २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौँ परिसरका एक अधिकारीले जानकारी दिए ।

सीसीटीभी र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा प्रहरीले हत्यामा संलग्नहरूको पहिचान गरिसकेको जनाएको छ । तीमध्ये एक जनालाई पक्राउ गरेर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो।

आन्दोलनका क्रममा तीन प्रहरीको हत्या भएको थियो । तीमध्ये दुई जना महाराजगञ्ज वृत्तका प्रहरी हुन् । महाराजगञ्ज वृत्तमा मिलन राम र उत्तम थापालाई आन्दोलनकारीले कुटपिट गरेर हत्या गरेका थिए । अरू २२ जनालाई भित्रै थुनेर आगो लगाइ दिए पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

यस्तै अरू केही प्रहरीलाई पनि आन्दोलनकारीले कुटपिट गरेर घाइते बनाएका थिए । कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको पनि धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । यी घटनामा संलग्नहरूको पनि पहिचान गरिसकेको प्रहरीको भनाइ छ । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको दाबी छ । यस्तै प्रहरीका हातहतियार लुटपाट गर्ने, पोसाक लुटपाट र आगजनी गर्नेहरूको पनि प्रहरीले खोजी गरिरहेको छ । आन्दोलनमा प्रहरीका एक हजार बढी हतियार लुटपाट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *