`

प्रहरी वृत्त महाराजगञ्जका तीन प्रहरीको मृत्यु

काठमाडौं । जेनजी युवाको प्रदर्शनमा ज्यान गुमाउने प्रहरीको संख्या तीन पुगेको छ । यसअघि दुई जना मृत भएको थियो । अहिले भने मृत प्रहरीको संख्या तीन पुगेको नेपाल प्रहरीले जनाएको छ ।

मृत हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् । एक असईसहित तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताएका छन् । अझै केही प्रहरी मिसिङ भएकाले यो संख्या बढ्न सक्ने बताइएको छ ।

गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा महिलाको भेटियो

पोखरा । आन्दोलनकारीले मंगलबार आगो लगाएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ ।

भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । विन्दुकुमार थापाका भाइ ध्रुवो नयाँबजारस्थित भरमा रहेको गाडीको स्वरूममा पनि बिहान एक महिलाको शव भेटिएको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।

आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको भर र गाडीको स्वरूममै आगो लगाइदिएका थिए । मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्ट समेत तोडफोड र आगजनी गरेका थिए ।

प्रहरी वृत्त महाराजगञ्जका दुई प्रहरीको मृत्यु

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको जनाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।

बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताएका छन् । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, पत्ता नलागी भन्न मिल्ने अवस्था छैन’, उनले भने ।

कोहलपुर इप्रकाको हिरासतमै थुनुवाको मृत्यु

दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमै एक थुनुवाको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको बाँके प्रहरीका प्रवक्ता डीएसपी नरेश पातलीले जानकारी दिए ।

मृतक सिंहको मृत्युको कारण र उनलाई कति दिनको म्याद थपिएको थियो भन्ने विषय प्रहरीले खुलाएको छैन । डिएसपी पातलीका अनुसार उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु भएको हो । मृतकका आफन्त अहिले इप्रका कोहलपुरमा पुगेका छन् ।

 

इन्स्पेक्टर गुरुङ कारागार चलान

काठमाडौं । पूर्व पत्नीको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका छन् ।

उनीविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो । इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए ।

पूर्व पत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो । इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्व पत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको दाबी थियो ।

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

महोत्तरी । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घर फर्केर नआएको निजका काका प्रमोद पासवानले बताए ।

गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरी चौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपश्चात् तुरुन्तै सक्रिय भएको प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताए ।

रास्कोटका वडाध्यक्ष बराल तीन दिनदेखि बेपत्ता

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका–८ फुकोटका वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन् । बुधबार बेलुकी रास्कोट–५ लामासिनस्थित ससुराली जाने भनेर हिँडेका बराल सम्पर्कविहीन भएका हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चुनाव जितेका जनप्रतिनिधि हुन् ।

वडा कार्यालयबाट दिउँसो नगरपालिका गएका वडाध्यक्ष बराल त्यहाँबाट ससुराली जाने भनेर हिँडेका वडासचिव कोपिलाकुमारी सञ्ज्याल बरालले जानकारी दिएकी छन् । वडाको काम सकेर ससुराली घर जान भनेर हिँहेका वडाध्यक्ष बराल बेपत्ता भएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।

‘ससुराली पनि, घर पनि गएनन्,’ नगर प्रमुख शाहीले भने, ‘अन्यत्र कता गए भन्ने पत्ता लगाउन सकिएको छैन ।’ उनले रास्कोट नगरका सबै वडा र हिँड्ने बाटोमा पनि नगर प्रहरी र स्थानीयले खोजी गरे पनि नभेटिएको जानकारी दिए ।

रास्कोट नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष बरालले मानसिक समस्याको औषधि सेवन गरिरहेको उल्लेख छ । वडाध्यक्ष बराल हराएको प्रहरी चौकी रास्कोटमार्फत आएपछि प्रहरीले रास्कोट, सान्निगाड, मेहलमुडीलगायतका प्रहरी चौकीबाट खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । बरालका पत्नी, एक छोरा र दुई छोरी छन् ।

अछाममा एकै ठाउँ दुई किशोरी मृत भेटिए

अछाम । अछाममा एकै ठाउँ दुई किशोरी मृत्त भेटिएका छन् । अछामको तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा आज (बिहीबार) एउटै रुखको हाँगोमा झुण्डिएको अवस्थामा १५ र १३ वर्षीया दुई किशोरी मृत भेटिएका हुन् ।

तुर्माखाँद गाउँपालिका–६ का उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । घटनास्थल उनीहरूको घरबाट सात सय मिटर टाढा छ । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले बिहान ९ बजे स्थानीयले देखेपछि आफूहरूले जानकारी पाएको बताए । उनले स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको र जिल्लाको टोली पुग्ने क्रममा रहेको बताए ।

घटनाबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको उनले बताए । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झण्डै ५÷७ सय मिटरको दूरीमा रहेको वनकझ रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनले भने, ‘दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए । घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।’ अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १६ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् । उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन् । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

नव नियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज (बिहीबार) गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२ औं प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । नव आईजीपी चन्द्रकुवेर खापुङले आजै कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो । हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे

आजदेखि आईजीपी खापुङले प्रहरीको ‘कमाण्ड’ सम्हाल्ने

काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आज कार्यभार सम्हाल्ने भएका छन् ।

आज (बिहीबार) बिहान साढे नौ बजे गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्न लगाई दिएपछि उनले प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ । सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो । हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे खापुङ अबको अढाई महिनामै अवकाश हुनेछन् ।

आइजीपी थापासँगै दुई एआइजीको बिदाइ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दीपक थापासँगै दुई अतिरिक्त महानिरीक्षक (एआइजी) को पनि बिदाइ भएको छ । आज (बुधबार) मध्यरातिदेखि दीपक थापा ३० वर्षे उमेर हदले अवकाशमा जाँदैछन् । थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदबाट सेवामा प्रवेश गरेका थिए । थापालाई २०८१ चैत ४ सरकारले आइजीपी बनाएको थियो ।

त्यही दिन हाल एआइजी रहेका सुदिप गिरी र टेकप्रसाद तामाङ पनि प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यसैले तीनै जना एकसाथ अवकाशमा जान लागेका हुन् । उनीहरू तीनै जनालाई प्रहरी प्रधान कार्यालय नक्सालमा एआइजी चन्द्रकुबेर खापुङले बिदाइ गरेका छन् ।

त्यसअघि आइजीपी थापालाई गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा कार्यक्रम आयोजना गरी बिदाइ गरेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख रहेका एआइजी चन्द्रकुबेर खापुङलाई सरकारले प्रहरीको ३२ औं आइजिपी बनाउने निर्णय गरिसकेको छ । उनले बिहीबारदेखि आइजिपीको कार्यभार सम्हाल्ने छन् । उनी आइजीपी बनेपछि प्रहरीमा चार वटा एआइजीको पद रिक्त हुनेछ । यसअघि भदौ १३ गते मध्यरातिदेखि एआइजी कृष्णहरि शर्मा पनि अवकाशमा गएका थिए ।