अछाममा एकै ठाउँ दुई किशोरी मृत भेटिए


अछाम । अछाममा एकै ठाउँ दुई किशोरी मृत्त भेटिएका छन् । अछामको तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा आज (बिहीबार) एउटै रुखको हाँगोमा झुण्डिएको अवस्थामा १५ र १३ वर्षीया दुई किशोरी मृत भेटिएका हुन् ।
तुर्माखाँद गाउँपालिका–६ का उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । घटनास्थल उनीहरूको घरबाट सात सय मिटर टाढा छ । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले बिहान ९ बजे स्थानीयले देखेपछि आफूहरूले जानकारी पाएको बताए । उनले स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको र जिल्लाको टोली पुग्ने क्रममा रहेको बताए ।
घटनाबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको उनले बताए । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झण्डै ५÷७ सय मिटरको दूरीमा रहेको वनकझ रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनले भने, ‘दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए । घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।’ अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १६ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् । उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन् । घटनाको विस्तृत विवरण आइसकेको छैन ।