रास्कोटका वडाध्यक्ष बराल तीन दिनदेखि बेपत्ता


कालिकोट । कालिकोटको रास्कोट नगरपालिका–८ फुकोटका वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन् । बुधबार बेलुकी रास्कोट–५ लामासिनस्थित ससुराली जाने भनेर हिँडेका बराल सम्पर्कविहीन भएका हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चुनाव जितेका जनप्रतिनिधि हुन् ।
वडा कार्यालयबाट दिउँसो नगरपालिका गएका वडाध्यक्ष बराल त्यहाँबाट ससुराली जाने भनेर हिँडेका वडासचिव कोपिलाकुमारी सञ्ज्याल बरालले जानकारी दिएकी छन् । वडाको काम सकेर ससुराली घर जान भनेर हिँहेका वडाध्यक्ष बराल बेपत्ता भएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
‘ससुराली पनि, घर पनि गएनन्,’ नगर प्रमुख शाहीले भने, ‘अन्यत्र कता गए भन्ने पत्ता लगाउन सकिएको छैन ।’ उनले रास्कोट नगरका सबै वडा र हिँड्ने बाटोमा पनि नगर प्रहरी र स्थानीयले खोजी गरे पनि नभेटिएको जानकारी दिए ।
रास्कोट नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष बरालले मानसिक समस्याको औषधि सेवन गरिरहेको उल्लेख छ । वडाध्यक्ष बराल हराएको प्रहरी चौकी रास्कोटमार्फत आएपछि प्रहरीले रास्कोट, सान्निगाड, मेहलमुडीलगायतका प्रहरी चौकीबाट खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । बरालका पत्नी, एक छोरा र दुई छोरी छन् ।