पहिलो दिनमै आईजीपी कार्कीले उठाए चार विषय, दर्ज्यानी चिह्न लगाएर बोल्दा ‘भक्कानिए’
काठमाडौं । नेपाल प्रहरीका ३३ औं महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएपछि पहिलो दिनमै आफूले पाएको जिम्मेवारीलाई केवल पद होइन, ‘जनताको विश्वास पुनः स्थापना गर्ने अवसर’ का रूपमा व्याख्या गरे । सिंहदरबारमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले एकातिर प्रहरीको मनोबल र सुशासनका सवाल उठाए भने अर्कातिर अमर प्रहरीको सम्झनामा बोल्दा भावनाले भरिएर गला अवरुद्ध भयो ।
‘वीर प्रहरीको सम्झना’ मा भक्कानिए आईजीपी
कार्यक्रमको प्रारम्भमै उनले राष्ट्र र जनताको सेवामा वीरगति प्राप्त गरेका प्रहरीलाई सम्झिँदै भने, ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका…’ त्यति भन्नासाथ आवाज रोकिन पुग्यो । आँखा रसाए, टिस्यु पेपरले आँशु पुछे र छोटो मौनतापछि फेरि सम्बोधन सुरु गरे । भावनात्मक क्षणबीच उनले प्रतिज्ञा गरे, ‘प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र नागरिकप्रतिको सेवा भावलाई सर्वोच्च प्राथमिकता दिनेछु ।’
चार प्रमुख एजेण्डा : संगठन सुधारको ‘रोडम्याप’
आईजीपी कार्कीले गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाउने कार्यक्रममै सरकार समक्ष चार ठूला मुद्दा प्रस्तुत गरे ।
नीतिगत स्पष्टता र कार्यगत स्वायत्तता – प्रहरी परिचालनमा स्पष्ट नीति र स्वायत्त अधिकार आवश्यक रहेको उनको भनाइ छ ।
सेवा विशिष्टकरण र वृत्ति विकास–प्रहरीको पेशागत उन्नति अनुमानयोग्य र न्यायोचित हुनुपर्नेमा उनले जोड दिए ।
प्रहरी सहचारी नीति कार्यान्वयन–लामो समयदेखि रोकिएको प्रहरी सहचारी राख्ने विषय तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे ।
स्टाफ कलेजको कानूनी मान्यता– सुरु भइसकेको प्रहरी स्टाफ कलेजलाई कानूनी रूपमा संस्थागत गर्नुपर्ने उनले माग गरे ।
संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापना
कार्कीले प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनस्र्थापना, आवश्यक हतियार र स्रोत सुनिश्चितता तथा मनोबल वृद्धि एकसाथ अघि बढाउनुपर्ने बताए । उनका अनुसार अहिले देशमा लागुपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका चुनौतीहरू तीव्र छन्, जसको समाधानका लागि ‘सुदृढ संरचना र उच्च मनोबलयुक्त प्रहरी’ अपरिहार्य छ ।
‘साझा जिम्मेवारी’ काे उद्घोष
आईजीपी कार्कीले नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, समुदाय र गैरसरकारी संस्थासँग सहकार्य गर्दै प्रहरी संगठनलाई ‘जनताको सुरक्षा र सुशासनको साझा जिम्मेवारी’ मा उभ्याउने प्रतिवद्धता जनाए । ‘सूचना प्रविधिको युगमा अपराधका स्वरूप बदलिएका छन्, त्यसैले प्रहरीको सोच र सीप पनि रुपान्तरण हुनुपर्छ’, उनले भने ।
खापुङबाट कार्कीमा कमाण्ड हस्तान्तरण
पूर्व आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्कीको हातमा आएको हो । मन्त्रिपरिषद्ले कात्तिक २५ गतेकै बैठकमा उनलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो ।
दुई वर्षे कार्यकालमा ‘सुधारको नक्सा’
साढे दुई वर्षका लागि प्रहरी नेतृत्व सम्हाल्दै कार्कीले आफ्नो पहिलो दिनमै संगठनलाई सुदृढ, पारदर्शी र नागरिकमुखी बनाउने योजनाको संकेत दिएका छन् । उनले भने, ‘संगठनमा सामूहिकता, सेवामा सत्यनिष्ठा र नेतृत्वमा उत्तरदायित्व—यही मेरो मार्गदर्शन हो ।’
