कार्की एआईजीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (सोमबार) को मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेशका प्रहरी प्रमुख समेत रहेका कार्की पहिलो डिआईजी थिए । काठमाडौँ उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो । नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी रहेकोमा हाल ७ जना कार्यरत छन् । एआईजीको दरबन्दी प्रहरी प्रधान कार्यालयमा ५ जना र ३ जनाको बाहिर छ ।
मुख्यालयमा मानवस्रोत विकास विभाग, प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग छन् । यस्तै प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र सीआईबीमा पनि एआईजी नै कार्यरत छन् । एआईजीकै दरबन्दी रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय भने प्रमुखबिहीन छ ।
