‘महादशा’ बाट प्रमुख हिरो बन्दै प्रभात लामा


काठमाडौं । हाँस्य कलाकारितामा चर्चा बटुलिरहेका प्रभात लामाले अब फिल्मको हिरो बन्ने भएका छन् । उनले किरण नेपालीको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘महादशा’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गर्ने भएका हुन् । कलाकार लामाका अनुसार लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्ममा उनी पूजा शर्माको जोडी बन्ने छन् ।
हाँस्य कलाकारबाट एकैचोटि ठूलो पर्दाको फिल्ममा मुख्य अभिनेताको भूमिका गर्ने अवसर पाउँदा लामा उत्साहित छन् । ‘सिनेमाको अफर आएपछि मनैले यो यात्रामा लाग्नुपर्छ भनेझैँ लाग्यो । अभिनय गर्दै आएको धेरै भए पनि ठूलो पर्दाको मुख्य पात्र बन्नु भनेको बिलकुलै नयाँ अनुभव हो’, प्रभातले भने, ‘त्यसैले उत्साहसँगै अलिकति नर्भस पनि छु ।’
फिल्मका लागि लामा र शर्मासँगै प्रमोद अग्रहरि, प्रेमा लामगाढे, हाकिम गुरुङ, उत्तम प्रधान, निरुता सिंह, श्याम मगर र रियर राईलगायत कलाकार फाइनल भइसकेको फिल्म निर्माण टिमले जानकारी दिएको छ । चर्चित र्यापर हाकिम गुरुङले पनि यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्दैछन् ।
राजे के. शाह, श्याम मगर र अमला देवी राईको लगानीमा बन्न लागको फिल्मको कार्यकारी निर्माता सुरज आचार्य हुन् । फिल्मको कथा तथा पटकथा मनीष गौतमले लेखेका हुन् । निर्देशक नेपालीले आफ्नो फिल्मले समाजका विविध तह, मानवीय चुनौती र जीवनका मोडलाई रोचक ढंगले पर्दामा उतार्ने बताएका छन् ।