`

भ्रष्टाचार र सुशासनको मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री कार्की

Nepal One HD ५ कार्तिक २०८२ १२:५५
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासनको पक्षमा सरकार सक्रिय रहेको बताएकी छिन् । सरकारको पहिलो प्राथमिकता २१ फागुनको चुनाव भए पनि भ्रष्टाचार र सुशासनको मुद्दामा मौन नभएको बताएकी हुन् । बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्कीले नेपालको संविधानमा अधीनमा रहेर जेन–जी आन्दोलनले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्ने बताइन् ।

उनले सम्बोधनमा भनिन्, ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन, नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।’

साथै, प्रधानमन्त्री कार्कीले लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न अपिलसमेत गरेकी छिन् । त्यसैगरी, वसन्तुपरको सम्बोधनमा कार्कीले सरकार चुनावका लागि प्रतिबद्ध रहेको दोहो¥याएकी छन् । यसअघि पाटन र मध्यपुर थिमिमा आयोजित कार्यक्रममा पनि सोही कुरा दोहोर्‍याएकी थिइन् । कार्कीले जेन–जी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुनै न कुनै माध्यमबाट सरकारले संवाद गरिरहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री कार्कीले हिजो मात्रै राजनीतिक दलसँग चुनावी संवाद गरेकी थिइन् । २१ फागुनको चुनावकेन्द्रित संवाद मंगलबार सरकार र दलबीच पहिलो पटक भएको हो । प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ। परिवर्तनका वाहक जेन–जी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *