`

भ्रष्टाचार हटाउने औषधि हुँदैन, मन शुद्ध हुनुपर्छ : शिक्षामन्त्री पुन

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउनसके भ्रष्टाचार हट्नसक्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने बताए ।

भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने बताए । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास पनि आग्रह गरे । योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्‍याउन आफूले निर्देशन दिइसकेको बताए ।योग र ध्यान पढाउने नभइ गराउने विषय भएको र विद्यालयमा शुक्रवारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलप गर्ने दिनको रुपमा अघि बढाउनेबारे कुरा उठाएको दाबी गरे ।

उनले भने, ‘मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ । मन शुद्ध भएन भने मनमा अनेकौँ किसिमका लोभ, लालसा, घमण्ड धेरै चिजहरु बढ्छन् । त्यो बढ्यो भने भ्रष्टाचार मौलाउने एउटा राम्रो माध्यम बन्छ । जति पनि भ्रष्टचारीहरु छन् भन्छाँै हामी उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो ।’

उनले भने, ‘त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैल्याउन सक्नुपर्छ । टोलटोलमा फैल्याउनसके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु । भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रुमपा देखेको छु । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गरौँ । योग, ध्यान गर्ने कुराहरुलाई पनि विद्यालय विद्यालयमा पुर्‍याउन पनि अतिरिक्त क्रियाकलापको माध्यमबाट हरेक विद्यालयमा पुर्‍याउने काममा लागेको छु। अतिरिक्त क्रियाकलापमध्ये योगलाई राख्न पनि निर्देशन दिइसकेको छु । योग विषय भनेको पढाउने कुरा होइन, गराउने कुरा हो । विद्यालयमा शुक्रवारको दिनलाई पढाउने होइन, अतिरिक्त क्रियाकलपअन्तर्ग अघि बढाउने कुरा उठाएको छु ।’ मन्त्री पुनले ध्यान र योग गर्नु भनेको मनलाई शान्ति र शुद्ध गर्नु रहेको बताए ।

भ्रष्टाचारविरुद्ध जुनसुकै हदको कदम चाल्न तयार छु : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम चाल्ने दावी गरेकी छन् । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै भएको भन्दै भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि नहट्ने बताइन् ।

भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभइ विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको उनले बताइन् । प्रधानमन्त्री कार्कीले पारदर्शिता र जवाफदेहिताको वातावरण बिना मानव अधिकार सुरक्षित रहन नसक्ने भएकाले यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको जिकिर गरिन् ।

उनले नेपालको शान्ति प्रक्रियाले विश्वलाई प्रेरणा दिएको भए पनि संक्रमणकालीन न्यायका बाँकी काम टुंगिन ढिलो भइरहेका छन् भन्ने कुरा सरकारको जानकारीमा रहेको बताएकी छन् । पीडितलाई न्यायको अनुभूति नदिलाएसम्म संक्रमणकालीन न्याय पूर्ण नहुने भएकाले हालै परिमार्जित कानुन र सहमतिहरूको आधारमा यस प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय निष्कर्षमा पुर्‍याउन सम्बन्धित संयन्त्रहरु सफल हुने उनले विश्वास व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको भन्दै समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न अपिल गरिन् । निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउने उनले बताइन् ।

उनले राष्ट्रिय मानव अधिकार आयोग लोकतन्त्रको पहरेदार संस्था भएकाले यसका सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा पनि राखिन् । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र निष्पक्ष र भयरहीत बनाउनका लागि आवश्यक सुरक्षा प्रवन्ध गर्न सरकारको विशेष ध्यान केन्द्रीत हुनुपर्ने बताए । विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगले यसअघि गरेको सिफारिसमा ध्यान दिन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । अध्यक्ष मगरले आयोगलाई प्रभावकारी काम गर्ने वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र को स्मरणमा हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ ।

भ्रष्टाचार र सुशासनको मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासनको पक्षमा सरकार सक्रिय रहेको बताएकी छिन् । सरकारको पहिलो प्राथमिकता २१ फागुनको चुनाव भए पनि भ्रष्टाचार र सुशासनको मुद्दामा मौन नभएको बताएकी हुन् । बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्कीले नेपालको संविधानमा अधीनमा रहेर जेन–जी आन्दोलनले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्ने बताइन् ।

उनले सम्बोधनमा भनिन्, ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन, नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।’

साथै, प्रधानमन्त्री कार्कीले लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न अपिलसमेत गरेकी छिन् । त्यसैगरी, वसन्तुपरको सम्बोधनमा कार्कीले सरकार चुनावका लागि प्रतिबद्ध रहेको दोहो¥याएकी छन् । यसअघि पाटन र मध्यपुर थिमिमा आयोजित कार्यक्रममा पनि सोही कुरा दोहोर्‍याएकी थिइन् । कार्कीले जेन–जी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुनै न कुनै माध्यमबाट सरकारले संवाद गरिरहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री कार्कीले हिजो मात्रै राजनीतिक दलसँग चुनावी संवाद गरेकी थिइन् । २१ फागुनको चुनावकेन्द्रित संवाद मंगलबार सरकार र दलबीच पहिलो पटक भएको हो । प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ। परिवर्तनका वाहक जेन–जी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ ।’

 

भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्नुपर्छ, प्रतिशोध साँध्न पाइँदैन : वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्नुपर्ने भए पनि प्रतिशोध साँध्न नपाइने बताएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज (शुक्रबार) काठमाडौंमा भएको कार्यक्रममा उनले राजनीतिक दलहरूले आगामी निर्वाचनमा संविधान संशोधनका ठोस एजेण्डा लिएर जानुपर्ने बताए।

‘दुई पटकभन्दा बढी प्रधानमन्त्री भइसकेका नेताहरूलाई पुनः प्रधानमन्त्री बन्न नदिने व्यवस्था संविधानमै राख्नुपर्छ,’ उनले भने । भट्टराईले सरकारलाई खबरदारी गर्दै कार्यकारी आदेशका नाममा संविधान र कानुन मिचिने काम तत्काल रोक्न माग गरे । उनले प्रेस स्वतन्त्रता संरक्षण गर्नुपर्ने, संवैधानिक निकायलाई दलको प्रभावमुक्त बनाउनुपर्ने र निर्वाचनलाई नै सुरक्षित निकासका रूपमा अघि बढाउनु पर्ने सुझाव दिएका छन् ।

भट्टराईले जेनजी आन्दोलनपछि नागरिक समाजले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाएर संविधान रक्षा गर्न सुझाएको स्मरण गरे । उनले संविधानमा देखिएका समस्याबारे चर्चा गर्दै धारा ७४, ७५, ७६, ७७ र १३२ मा ग्रहण लागेको टिप्पणी गरे । गत भदौ २३–२४ गते जेन–जी युवाहरूले गरेको आन्दोलनपछि सरकार बन्दैदेखि नेपालको संविधानमा ग्रहण लागेको उनको भनाई छ ।