सुशीला कार्की नेतृत्वको सरकारले देशलाई निकास दिन सक्दैन : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सत्तामा उदय नै अदृश्य तवरले भएको आरोप लगाउँदै उनले यो सरकारले देशलाई सही दिशा दिन नसक्ने बताएका हुन् । पूरानै संविधान र पूरानै व्यवस्था राखेर अघि बढ्दा गन्तव्य पनि पूरानै नेपाल हुने उल्लेख गर्दै साहले अबको निकास भनेको नै ‘सरकार बदलावसँगै व्यवस्थाको पनि बदलाव हो । अन्तरिम सरकार र अन्तरिम संविधान’ भएको बताए ।
आज (शुक्रबार) सिराहाको सुखीपुर नगरपालिका–१० दहिपौरी बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुशीला कार्की र ओमप्रकाश अर्यालले ‘देश नबुझेको र जनता नै नचिनेको’ आरोप लगाए । उनीहरूको नेतृत्वमा देशले निकास नपाउने उनको टिप्पणी छ ।
‘सुशीला कार्कीहरू जेनजी आन्दोलनका अपहरणकारीहरू हुन् । जेनजी विद्रोहमा जसरी केपी ओली र रमेश लेखकहरुले दमन गरे, त्यो भन्दा बढि युवाहरुको सपना अनि भावनामाथि यी सुशीला र ओमप्रकाश अर्यालहरुले फोहोरी खेल खेलेका छन्,’ उनले भने, ‘षड्यन्त्र गरेका छन् । छलछाम गरेका छन् । यो कुरा अहिले न्यायप्रेमी जनताले थाहा पाइसके ।’
