`

स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन हुँदैन, सत्ताको लोभ छैन : महामन्त्री पौडेल

Nepal One HD १० कार्तिक २०८३ १३:२५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पार्टीले कुनै गठबन्धन नगर्ने स्पष्ट पारेका छन्।

आफूहरूलाई सत्ताको लोभ नरहेको उल्लेख गर्दै उनले जनतामा देखिएको असन्तुष्टि सम्बोधन गरेर पार्टीप्रतिको विश्वास कायम राख्नुपर्ने बताएका हुन्।

नेपाली कांग्रेस म्याग्दे गाउँ कार्यसमितिले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताए।

जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास राखेको उल्लेख गर्दै उनले त्यसलाई जोगाउनु पार्टीको महत्त्वपूर्ण जिम्मेवारी भएको धारणा राखे।

पार्टीभित्रका विषयमा मात्रै अल्झिएर राष्ट्रिय जिम्मेवारीबाट विमुख हुन नहुने उनको भनाइ थियो। कांग्रेसलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए।

कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको दाबी गर्दै पौडेलले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको जिकिर गरे। जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन नगरे पार्टीप्रतिको विश्वास कायम राख्न कठिन हुने संकेत गर्दै पौडेलले जनताको अपेक्षाअनुसार पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने बताए।

आगामी निर्वाचनमा गठबन्धन नगर्ने पार्टीको धारणा सार्वजनिक गर्दै उनले सत्ताभन्दा जनताको विश्वास र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *