मधेशको गाउँगाउँमा मनाइयो छठ
पर्सा । छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका ब्रतालुहरु छठ घाटमा रात बिताउन घाट पुगी सकेका छन् ।
आज अस्ताउँदो सुर्य लाइ अर्घ दिई कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।
महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।








