`

फसे अन्नपूर्ण पदयात्री, उद्धारका लागि टोली परिचालन

Nepal One HD ११ कार्तिक २०८२ १२:४५
प्रमुख खबर

काठमाडौँ । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा गए रातिदेखि भारी मात्रामा हिमपात भइरहेको छ ।

अत्यधिक मात्रामा पर्यटकको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले पर्यटक बिरामी पर्ने तथा अलपत्र पर्ने जोखिम भएकाले गाउँपालिकासँगको समन्वयमा पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिएका छन् ।

उनकाअनुसार हिमाली उद्धारकर्मीका रुपमा परिचित इन्द्रसिंह शेरचन समेत सहभागी उक्त टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएका कारण पर्यटक भारी हिमपातका कारण समस्यामा पर्नसक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा रोक लगाइएको हो ।

सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरकेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए । अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले उक्त अवधिमा अन्नपूर्ण आधार शिविर जान पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गाउँपालिकाले समेत सूचना जारी गरेर मौसम खराबीका कारण हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *