मुस्ताङमा भारी हिमपात, जनजीवन कष्टकर
मुस्ताङ । मुस्ताङमा भारी हिमपात भएको छ । भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या सिर्जना भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको ५ किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । ‘चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ’, प्रहरी नायब उपरीक्षक लामाले भने ।
मंगलबार लोमान्थाङ– २ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले जानकारी दिए । मंगलबार दिनभरको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन् । मंगलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।
