थापाथली ट्राफिक प्रहरी बिट भत्काउन पुग्यो कामपाको डोजर (तस्वीरहरु)
काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ । महानगरको डोजर ट्राफिक प्रहरी बिटको संरचना भत्काउन पुगेको हो । काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयको संरचना भत्काउने तयारी गरेपछि त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन् । महानगरपालिकाले अहिले डोजरको सहायताले ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको इरानी चिया पसलको भवन भत्काइरहेको छ ।
महानगले गएको शुक्रबार पनि बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको थियो । त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको ट्राफिक प्रहरी कार्यालयको संरचना पनि महानगरले हटाउन थालेको हो । महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बसेको बिट बसेको बताउँदै आएको छ ।









