रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर, भन्ने बित्तिकै सबै हुँदैन : बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा देशभित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताए । ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उनको भनाई छ ।
रामराज्य ल्याई दिउँ भन्ने चाहना भए पनि भन्ने बित्तिकै केही नहुने टिप्पणी गरे । उनले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताए । गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै उनले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताए । उनले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनर्संरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘राजनीतिमा बढो ख्याल गर्नुस् तपाईहरुले सबै देखेको मात्रै हुँदैन, कही अदृश्य शक्तिहरुले काम गरिरहेका हुन्छन् । त्योसँग तपाईले एकैचोटी शक्ति सन्तुलन मिलाएर लढ्न सक्नु भएन भने झोक उठ्दा त सबैलाई सिध्याईदिउँ क्यारे । अहिले नै रामराज्य ल्याईदिउँ क्यारे भनेजस्तो लाग्छ तपाईलाई । त्यो सपना त बोक्नुपर्छ । तर लडाईँ लड्दाखेरी तपाई हात्तिसँग कुस्ती खेल्नु पर्यो के गर्नुहुन्छ, कुस्ती खेल्न सक्नुहुन्छ तपाई हात्तीसंग लड्दाखेरी ? हात्तिसंग कुस्ती खेल्ने त होईन । हात्तिलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तब्यमा जानुपर्छ । त्यसो भएको हुनाले हामीले त्यो ढंगले चाँही गर्यौँ ।’
उनले भने, ‘यो मुद्दा पनि सँगसँगै सम्बोधन गर्नुपर्छ । अवको लोकतन्त्र, अबको गणतन्त्र, राजतन्त्र फ्याक्ने मात्रै होईन । गणतन्त्र त चाहियो, त्यो वंशानुगत जन्मजात नै कोही चाँही ठुलो हुन्छ, त्यो पनि छोरो नै राजा हुनुपर्ने, निश्चित जातिकै हुनुपर्ने भन्ने त सोझै अलोकतान्त्रिक हो नी त्यो त । त्यो विषय त मध्ययुगिन कुरा थियो, हामी कहाँ पछिसम्म टासिँयो । त्यो त चाहियो चाहियो । संगसंगै लोकतन्त्र पनि अप्रत्यक्ष भोट हाल्ने मात्रै लोकतन्त्र होईन । अथवा पुँजीवादी हाम्रा काँग्रेसहरुले भनेजस्तो लोकतन्त्र पनि पूर्ण हुँदैन । कम्युनिष्टले भन्ने वर्ग मात्रै भनेर अरु कुरा छाडेर वर्गको नाममा आजिवन सत्तामा बसेर वर्गको उत्थानीकरण त हुन्छ त उसको त । त्यसकारण जुन भ्रष्टिकरण भएको थियो, त्यो भन्दा माथी उठेको लोकतन्त्र समावेशी र सहभागीयुक्त लोकतन्त्र चाहिन्छ ।’ जेन–जी अगुवा अमित खनालले नेपालका राजनितक दलहरुको विचारमा परिवर्तन हुन नसकेको बताए । मार्क्सबाट लेनिन, लेनिनबाट माओ आउँदै गर्दा केही न केही परिवर्तन भएको भएपनि नेपालमा राजनीतिक दलहरुको भने २०६३ सालमा बोकेका एजेण्डा अझै बोकेर हिँडिरहेको बताए ।
जेन–जी अगुवा माजिद अन्सारीले सुरक्षा निकायको भुमिकामाथि प्रश्न उठाए । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लाठी चार्ज गर्नुपर्ने ठाउँमा प्रहरीले गोली चलाएको र राष्टको धरोहर बचाउनुपर्ने ठाउँमा देखा नै नपरेको उनको भनाई छ । उनले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको पनि बताए । आन्दोलनका क्रममा अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भए पनि हाल मधेसी, मुसहर, दलित, जनजातिका अनुहार मात्रै पक्राउ परेको उल्लेख गरे । राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीवार जेनजी अगुवाहरुसँग अन्तरसंवाद कार्यक्रममा गरेको थियो ।
‘जेनजीको मुख्य मागलाई नै सरकारले बेवास्ता गर्यो’
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको बताएका छन् । उनले जेन–जी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिए । जेन–जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उनको भनाई छ ।
उनले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानविनको लागि प्रक्रिया अगाडी बढाउन दबाब दिन सुझाव दिए । उनले भदौ २३ को आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रुपमा छानविनको लागि दबाब बढाउन आग्रह गरे । उनले छानविनको लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताए । यसले गर्दा प्रमाण नष्ट हुने र दोषी उम्कने उनको दाबी छ । निर्वाचन गर्न पनि सरकारलाई दबाब दिनुपर्ने उहाँको भनाई छ । निर्वाचन नभएमा संविधान असफल हुने उनको भनाई छ ।
