भासिएको ८ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेन जब्दिघाट पुल (तस्बिरहरु)
काठमाडौँ । सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौँ बितिसक्यो । २०७४ साउन २८ गते भासिएको सो पुल २०७८ असोजमा आएको बाढीले बिच भागको स्पान बगाएकाेमा हालसम्म पुनर्निमाण हुन सकेकाे छैन ।

भत्किएको पुल कहिले निर्माण हुने हो निश्चित छैन । पप्पु कन्ट्रक्सनले डिजाइन अनुसार पुल निर्माण नगर्दा सो पुल भासिएको हो । सडक विभाग अन्तर्गत पुल निर्माण शाखाले गरेको प्राविधिक अध्ययन अनुसार सो पुल निर्माणमा निर्माण कम्पनीले गम्भीर लापरबाही गरेको देखिएको छ ।

पुलचोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेजको प्रतिवेदन अनुसार जमिनमुनि १६ मिटरसम्म पाइल राख्नु पर्नेमा ५ मिटरसम्म मात्र राखिएको भेटिएको प्रतिवेदन उल्लेख गरिएको छ । जसका कारण पुलको भार वाहन क्षमता निकै कमजोर देखिएको हो ।

हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो । यो पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटो बन्द भएका छन् ।

पप्पु कन्ट्रक्सनलले १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको पुल उद्घाटन नहुँदै भासिएपछि बबई नदी वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिन परेको छ ।

पप्पु कन्ट्रक्सनलले ०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको थियो । तोकिएको भन्दा डेढ वर्ष ढिलो निमार्ण भएको पुलको लम्बाई ४ सय ३५ मिटर रहेको छ। निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको छ।

जब्दीघाटमा स्टिमर सञ्चालनमा छ । स्टिमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनु पर्छ । साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन् ।
तस्वीर : प्रकाश चन्द्र तिमिल्सेना /नेपाल फोटो लाइब्रेरी






