`

कल्याण श्रेष्ठलाई अग्नि खरेलको प्रश्न : तपाई प्रधानमन्त्री हुने बजार हल्ला के हो ?

Nepal One HD २५ कार्तिक २०८२ १६:५६
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व कानूनमन्त्री अग्नि खरेलले संविधानले नचिनेको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाएर पनि नपुगेर फेरि कल्याण श्रेष्ठलाई बनाउने हल्ला चलाइएको भन्दै प्रश्न उठाएका छन् । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठकै खटनमा चल्ने कानून समाजले प्रमुख दल र जेनजीका अगुवाबीचको छलफलमा खरेलले यस्तो प्रश्न उठाएका हुन् । कल्याण श्रेष्ठ उपस्थित कार्यक्रममा खरेलले ‘हल्ला त फेरि तपाईको पो चल्दैछ’ के हो भन्दै प्रश्न गरेका हुन् ।

खरेलले भने, ‘म कानूनमन्त्री भएका बेला कल्याण श्रीमान प्रधानन्यायाधीश हुनुहुन्थ्यो, सुशीला श्रीमान दोस्रो वरियताको न्यायाधीश । संयोगले हामी ३ जनाको न्यायपरिषद थियो । आज सुशीला श्रीमान त्यहाँ (प्रधानमन्त्री) हुनुहुन्छ, कल्याण श्रीमान् यहाँ हुनुहुन्छ । बजार हल्ला त तपाईको पनि छ त । तपाईले त सुन्नु भएको छैन होला, यो के हल्ला चल्दैछ नेपालमा ? मैले बुझ्न छाडेको छु ।’

पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खरेलले संविधानको धारा ७६ भन्दा बाहिरबाट सरकार गठन र विघटन नहुने भन्दै सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको बताए । तर आफू अदालतको फैसला कुर्ने बताए । खरेलले भने, ‘संविधानबमोजिम सर्वोच्चबाट बाहिरिएको न्यायाधीश मानवअधिकार आयोगभन्दा अन्त नियुक्त हुन पाउँदैन । सरकार गठनबारे सर्वोच्चका चार जना (कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा, मीनबहादुर रायमाझी) प्रधानन्यायाधीशहरूको वक्तव्य मज्जाले पढेको छु । धारा ७६ को प्रयोग भयो अहिले ? बोल्ने ठाउँहरू सारै धेरै छन् तर नबोलेको पो त, नभनेको पो त ।’

सुशीला कार्कीलाई प्रधान न्यायाधीशबाट कांग्रेस र माओवादीले महाअभियोग लगाउँदा त्यो बेठिक भयो भनेर केपी शर्मा ओलीलाई विश्वास दिलाउने र एमालेलाई सुशीलाको पक्षमा उभ्याउने भूमिका आफ्नो रहेको समेत खरेलले स्मरण गराएका छन् । उनले जेनजीहरुलाई दल खोलेर चुनावी प्रतिस्पर्धामा आउन भन्दै आफूसँग प्रचण्डले जसरी जेनजी म आफै हुँ भन्ने कला नभएको टिप्पणी गरेका छन् । उनले जेनजी अभियन्ता भावना राउतलाई झापा ५ मा चुनाव लड्न आग्रह समेत गरे ।

‘एमाले निर्वाचनबाट भाग्दैन तर, निर्वाचन हुने विश्वास छैन’
एमाले नेता एवं पूर्व कानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन् । नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचन : चुनौती र अवसर विषयक राजनीतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रमा उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाए । निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनीतिक दलका नेताहरुलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरुलाई विश्वास नलागेको उनको भनाई छ । उनले निर्वाचन गर्ने वातावरण बनाउने सरकारको काम भएको बताए । तर सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा विगार्नेतिर बढी गएको उनको भनाई छ ।

उनले भने, ‘प्रहरीको मनोबल अगाडि बढेको छैन । म विनम्रतापूर्वक भन्छु, ढंगले आओस् एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन । काम कारबाही नै त्यो खालको भईरहेको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने । निर्वाचनमय वातावरण बन्नुपर्छ होला नि त, त्यो वातावरण बनेको छ ? त्यसका निम्ति चाहिने चीजहरु आएर फरर आएर भनेर मात्रै हुन्छ ? त्यो खालको निर्वाचनमय वातावरण बनेको छ कि छैन । या बनाइँदै छ कि छैन । चुनाव गर्नुस् हामी भाग लिन्छौ तर हामीलाई आजसम्म चुनाव हुन्छ भन्ने विश्वास छैन, त्यो विश्वास दिलाउने काम सरकारको हो । दलसंग वार्ता गर्दिन भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन । शीर्ष नेताहरुसंग म बस्दिन, किन बस्दिन ? प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानन्याधीश बनाउने त तिनै शीर्ष नेता हुन त । त्यसबेला प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो क्यार ।’ उनले राजनीतिक दलहरु समेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै निर्वाचन गर्न सफल भएको पनि स्मरण गरे ।

जेनजी पुस्ता राजनीतिक सुझबुझका साथ आउन सक्नु पर्छ : भावना राउत
जेनजी अभियन्ता भावना राउतले निर्वाचनले मात्रै मुलुकको गतिरोध अन्त्य गर्नसक्ने बताएकी छन् । नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । अभियन्ता राउतले संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा पनि आफू दृढ रहेको बताइन् । यो संविधानमा उल्लेख गरिएको संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र आफूले अनुशरण गरेर अघि बढ्ने उनको भनाई थियो । अभियन्ता राउतले जेनजी पुस्ताले पनि मुलुकलाई निकास दिनका लागि राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको बताइन् ।

उनले भनिन्, ‘यो चुनाव सोलुसन होइन भन्दा गर्दा लोकतन्त्रको डेडलकमा गएर कहाँ हिट गर्ने भन्ने कुरा अलिकति हामीपनि राजनीतिक भाषा बोल्न सुझबुझका साथ आउनु पर्छ जस्तो लाग्छ । मुलुकलाई डेडलकबाट निकाल्न सक्ने एउटा मात्रै अवस्था भनेको चुनाव हो । संविधान बनाउँदाखेरी संविधान सभाबाट पारित संविधान हो यो हाम्रो । यो संविधानलाई यत्तिकै छुन पाइँदैन । म यो संविधान मान्छु, संघीयता मान्छु । धर्मनिरपेक्षता पनि मान्छु । म लोकतन्त्र पनि मान्छु । यति भन्दैगर्दा संविधान रिफर्म हुनुहुन्न भनेको होइन । संविधान रिफर्म गर्नका लागि विगत १० वर्षमा भएका गल्ती एउटा आयोग बनाएर जुन जननिर्वाचित संसद आउँछ । त्यो संसदको पहिलो काम नै संविधान संशोधन गर्ने एजेण्डासहित उनीहरु निर्वाचनमा जानुपर्छ ।’ अभियन्ता राउतले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधि सभाले संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नेगरी निर्वाचनको एजेण्डा बनाएर अघि बढ्नुपर्ने समेत बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *