कुलमानका नजिकका सहयोगीहरुले नै किन दिएनन् ‘उज्यालो नेपाल पार्टी’ लाई साथ ?
काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको केही दिनमै विवाद र असमझदारीका अँध्यारा पक्षहरु उजागर भएका छन् । पार्टीको नाम, उद्देश्य र नेतृत्वले ठूलो चर्चा पाएको भए पनि, आफ्नै नजिकका सहयोगी र विश्वास पात्रहरूले पार्टीमा नभएको दाबी गर्न थालेपछि यो राजनीतिक पार्टीको अबको बाटो कस्तो रहला भन्ने प्रश्न र जिज्ञासाहरू उठ्न थालेका छन् ।
मंगलबार निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समितिको नामावली बुझाउँदै पार्टीको संरचना सार्वजनिक गरिएको थियो । तर सूचीमा नाम आएका कतिपय व्यक्तिहरुले आफू उक्त पार्टीमा आवद्ध भइनसकेको प्रतिक्रिया दिएका छन् । चितवनका सुभाष प्रधान र टासी ल्हान्जोम जस्ता व्यक्तिले नै ‘पार्टीमा आफूहरु आबद्ध नभएको’ स्पष्ट बताएका छन् । प्रधानका अनुसार, कुलमानसँग नयाँ राजनीतिक विकल्पबारे सामान्य छलफल भएको थियो, तर केन्द्रीय समितिमा नाम राख्ने सहमति भने भएको थिएन । उनले थपे, ‘पार्टी गठनमा आवश्यक राजनीतिक संस्कार र पारदर्शिता देखिएन ।’ त्यस्तै, टासी ल्हान्जोमले पनि आफूलाई पार्टी सदस्य बनाइएको खबर सुनेरै अचम्म लागेको बताइन् । ‘म कुनै दलमा आबद्ध छैन’, उनको भनाइ छ ।
पार्टीका प्रवक्ता जितराम वाइबा भन्छन्, ‘यो नयाँ दर्ता होइन, पहिले नै दर्ता भएको उज्यालो नेपाल पार्टीको अद्यावधिक मात्र हो ।’ तर अद्यावधिकको नाममा नयाँ नाम थपिँदा धेरै व्यक्तिले ‘पहिले जानकारी नदिइएको’ आरोप लगाएका छन्, जसले संगठनात्मक अस्पष्टता झल्काउँछ । अघिल्लो दर्तामा मानबहादुर तामाङ अध्यक्ष थिए, तर अहिलेको अद्यावधिकमा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाइएको छ ।
ऊर्जा क्षेत्रमा आफ्नो अब्बल नेतृत्व र इमानदार छविका कारण चर्चित घिसिङ अहिले पनि मन्त्रीको भूमिकामा छन् । तर, उनको राजनीतिक योजनामा अत्यन्त नजिकका सहयात्री सुमना श्रेष्ठ र सुदन गुरुङसम्म पनि औपचारिक रूपमा सहभागी छैनन् । घिसिङले केही दिनअघि नै दुवैसँग छलफल गरेका थिए, तर उनीहरूले अहिले पार्टीमा नजाने निर्णय गरेका छन् । पार्टीका प्रवक्ता वाइबा भन्छन्, ‘सुमना र सुदन अहिले औपचारिक रूपमा उज्यालो नेपालमा छैनन्, तर सहकार्यको ढोका खुला छ ।’ यसले संकेत गर्छ—घिसिङको राजनीतिक योजना अझै पूर्ण तयारी र सहमतिको चरणमा पुगेको छैन ।
‘उज्यालो नेपाल’ नाम आफैंमा घिसिङको पहिचानसँग जोडिएको ब्रान्ड हो—ऊर्जा सुधार, सुशासन र विकासको प्रतीक । तर पार्टी गठनको प्रारम्भमै नाम प्रयोगमा विवाद, सदस्यताको भ्रम र पर्याप्त छलफल बिना नाम राख्ने अभ्यासले विश्वसनीयता र पारदर्शितामाथि प्रश्नचिन्ह खडा गरेको छ । पार्टीले भने ‘सुशासन, स्वच्छ ऊर्जा र विकासमुखी राजनीति’ लाई नारा बनाएको छ र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित अभियान अघि बढाउने तयारीमा छ । कुलमान घिसिङ प्राविधिक दक्षता, इमानदारी र परिणाममुखी नेतृत्वका लागि चर्चित व्यक्ति हुन् । तर राजनीतिक क्षेत्र प्राविधिक भन्दा धेरै जटिल र भावना–हित–रणनीतिमा आधारित हुन्छ ।
उनीसँग जनताको विश्वास छ, तर राजनीतिक सहमति र संरचनागत आधार अहिले नै कमजोर देखिन्छ । प्रारम्भमै आफ्ना सहयोगी र सम्भावित सहयात्रीहरू असहज महसुस गर्न थालेको सन्देशले पार्टीभित्रको संवाद र सहमतिको कमी प्रष्ट हुन्छ । यदि घिसिङले आगामी निर्वाचनमा गम्भीर रूपमा प्रवेश गर्न चाहन्छन् भने, विश्वास, पारदर्शिता र सहकार्यको राजनीति पुनः स्थापना पहिलो शर्त हुनेछ ।
