जेनजी आन्दोलनमा क्षतिग्रस्त कोइराला निवास रगंरोगन र पुननिर्माणपछि चिटिक्क
विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गत भदौ २४ गते आगजनी गर्दा ध्वस्त भएको राजनीतिक चेतनाको धरोहर कोइराला निवासको आंशिक खण्ड डा. शेखर कोइरालाले मर्मत गरेका छन् ।
आगजनीबाट काठ र टिन प्रयोग गरेर कृष्णप्रसाद कोइरालाले निर्माण गरेको संरचना पूर्णरुपमा ध्वस्त भएको थियो । पछि थप गरिएको संरचना पक्की थियो। पक्की संरचना भित्र रहेका सबै सामग्री जलेपनि बाहिरी खण्ड सामान्य जस्तै थियो । पक्की संरचना डाक्टर कोइराला ले मर्मत गरी रङ्ग रोगन गरेका हुन् । मर्मतपछि कोइराला त्यहीँ बस्न थालेका छन् ।
स्वर्गीय कृष्णप्रसाद कोइरालाले बनाएको घरलाई पुरानै शैलीमा पुननिर्माण गर्ने तयारी रहेको छ । नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईका अनुसार पुरानो संरचनालाई पुरानै आकृति अनुसार पुननिर्माण गर्नका लागि इन्जिनियरले नक्सा तयार गरेका छन् । ‘अब पुरानै संरचना अनुसार काम सुरु हुन्छ।’ उनले भने । कृष्णप्रसाद कोइरालाले निर्माण गरेको कोइराला निवास राजनीतिक चेतनाको धरोहरको रुपमा रहेको थियो । २००७ सालको राणाविरोधी आन्दोलन, २०४६ साल र २०६२–६३ को जनआन्दोलनमा कोइराला निवासको योगदान थियो ।

नेपाली कांग्रेस कार्यकर्ताले तीर्थस्थल जस्तै मान्ने कोइराला निवास निर्माणको ठ्याक्कै मिति भने तय भएको छैन् । तर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले सर्वश्वहरण गर्दा कृष्णप्रसाद विराटनगरको यही घर छाडेर हिँडेका थिए ।
कोइराला निवासको १२० वर्ष भन्दा पुरानो भएको कांग्रेस नेताहरू बताउँछन् । यो घर चार पटक निर्माण–पुनर्निर्माण गरिसकेको छ ।
कृष्णप्रसाद कोइरालाले बनाएको घर सानो भएपछि २०१४ सालको कांग्रेसको विशेष महाधिवेशनअघि केशव कोइरालाले उत्तरतर्फ दुई वटा कोठा थप गरेका थिए । डाक्टर शेखर केशवका छोरा हुन्। निर्वासित जीवनबाट मेलमिलापको नीति लिएर बीपी कोइराला नेपाल फर्किएपछि २०३४ सालमा उत्तरतर्फ दुईवटा कोठा थपियो । संरचना पनि पक्की बनाइएको थियो । त्यसपछि २०५२ सालतिर बीपीले प्रयोग गर्ने कोठालाई बैठक कक्ष बनाएर गिरिजाप्रसाद कोइरालाले आफ्ना लागि अर्को कोठा थप गरेका हुन् ।
कृष्णप्रसादले बनाएको घरको स्वरूप नबिगारी उत्तरतर्फ पटकपटक संरचना थप गरिएको कोइराला निवासका बारेमा जानकार पत्रकार ले बताएका छन् ।

अराजक समूहले लगाएको आगोले कृष्णप्रसादले बनाएको घर खण्डहर भएको थियो । बीपी र गिरिजाप्रसादका लागि थप गरिएको बाहिरी संरचना बाँकी थियो । घर भित्र भएका सबै सामग्री जलेको थियो । कोइराला परिवारमा अंशबण्डा हुँदा राजनीतिक बिरासत बोकेको घर डा. शेखर कोइरालाको भागमा परेको थियो । उनी बीपी र गिरिजाप्रसाद कोइरालाका भतिज हुन् । शेखरका बुबा केशव कोइरालाले कांग्रेसको सक्रिय राजनीति नगरे पनि राजनीतिक आन्दोलनमा होमिएका दाजुभाइलाई सघाएर घर व्यवहार सम्हालेका थिए ।
बीपीपुत्र डा.शशांक कोइरालासहितका सन्तानले विराटनगरको सबै जग्गा बेचे । सुजाता कोइरालाले आफ्नो भागमा परेको केही जग्गा बेचिन् । कोइराला निवास अगाडि थोरै जग्गा उनले राखेकी छिन् ।
