असंवैधानिक सरकारले राजाले जस्तै संसद्को हत्या गर्यो : मनोज भट्ट
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गर्दै त्यसले संसद्को अस्तित्वमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै भट्टले जेनजी आन्दोलनको नाममा गठन भएको सरकारले जनप्रतिनिधिमूलक संस्थामाथि हमला गरेको दाबी गरे ।
उनका अनुसार जनताको दैनिकी र जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सरकारको पहिलो निर्णय नै संसद् विघटनतर्फ केन्द्रित भयो, जसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको छ । भट्टले भने, ‘जेनजी आन्दोलनको नाममा असंवैधानिक सरकार गठन भयो र त्यसको पहिलो निशानामा संसद् पर्यो ।’ उनले यसलाई लोकतान्त्रिक अभ्यासको गम्भीर अवमूल्यनको संज्ञा दिए ।
महासचिव भट्टले नेपालको राजनीतिक इतिहाससँग तुलना गर्दै विगतमा राजाहरूले संसद् विघटन गरेको प्रसंग स्मरण गराए । उनले राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संसद् भंग गरेको घटनासँग वर्तमान सरकारको कदमलाई जोड्दै उस्तै प्रवृत्ति दोहोरिएको आरोप लगाए । ‘जसरी राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संसद्को हत्या गरेका थिए, त्यसरी नै अहिलेको सरकारले पनि संसद्को हत्या गरेको छ’, उनले भने ।
उनले असंवैधानिक कदमले मुलुकलाई राजनीतिक अन्योलतर्फ धकेल्ने र जनताको अधिकार कुण्ठित गर्ने खतरा रहेको उल्लेख गरे । लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने साटो कमजोर पार्ने यस्ता निर्णयको विरोध आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा उनले राजनीतिक दलहरूलाई संविधान, संसद् र जनमतको सम्मान गर्न आह्वान गर्दै लोकतान्त्रिक मूल्यको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।
