बालेनको दुई दिने म्याराथन भेटघाट, कसरी अघि बढ्लान् संसदीय राजनीतिमा?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह यतिबेला उच्चस्तरीय राजनीतिक छलफलमा सक्रिय रूपमा जुटिरहेका छन्। ललितपुरको ज्वागलमा रहेको प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको निवासलाई केन्द्र बनाएर उनले बुधबार दिउँसोदेखि निरन्तर भेटघाट र संवाद गरिरहेका छन्। ती छलफलहरूमा जेनजी अगुवा, कलाकर्मी, राजनीतिकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा नयाँ पुस्ताका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
बालेनले अहिलेसम्म पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि स्वतन्त्र सांसद अमरेश कुमार सिंह, अभियन्ता सागर ढकाल र खगेन्द्र सुनारसँग छलफल गरिसकेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व कुलमान घिसिङ, चर्चित पत्रकार ऋषि धमला, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही, जेन–जी फ्रन्टकी संयोजक रक्षा बम लगायतका ४० भन्दा बढी उच्च पदस्थ र प्रभावशाली व्यक्तिहरूसँग बालेनले विचारविमर्श गरिसकेको बालेन निकट स्रोतले जनाएको छ ।
यी छलफलहरूको मुख्य केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जेन–जी पुस्ताको राजनीतिक भूमिकालाई राखिएको बताइएको छ । स्रोतका अनुसार, मुलुकको वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिक शक्तिहरूबीचको सहकार्य र नयाँ पुस्ताको अपेक्षालाई संस्थागत राजनीतिमा कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा गहिरो संवाद भइरहेको छ ।
विशेषगरी, रास्वपा सभापति रवि लामिछानेसँग बालेन शाहको भेटवार्ता निकै बाक्लो बनेको छ । पछिल्लो एक हप्ताको अवधिमा उनीहरूबीच तीन पटक भेटवार्ता भइसकेको छ। गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । उक्त छलफलबाट कुनै पनि निष्कर्ष ननिस्किएपछि बालेनले अरुसँगको छलफललाई पनि तीव्रता दिएका छन् । नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बहस चलिरहेका बेला बालेनले रविलाई वार्तामा प्रमुख प्राथमिकतामा राखेको देखिन्छ । आजपनि ३ घण्टा चलेको बालेन-रवि वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि पुन: छलफल गर्ने सर्तसहित लामिछाने ज्वागलबाट बाहिरिए।
भेटवार्ता सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै रवि लामिछानेले छलफल आशावादी रहेको बताएका छन् । “वार्ता कस्तो रह्यो?” भन्ने पत्रकारको प्रश्नमा उनले हाँस्दै “मेरो अनुहार जस्तै हसिलो” भएको प्रतिक्रिया दिएका थिए। लामिछाने निस्किएको केहीबेरमा रास्वपा नेता शिशिर खनाल ज्वागल पुगेका थिए । आज राती कुलमान घिसिङसहितको तीनपक्षीय वार्ता गर्ने तयारी भएको छ।
बालेन निकट स्रोतका अनुसार रविसङ्ग सहकार्यको सम्भावना नबने कुलमान लगायतका अन्य शक्तिहरुलाई मिलाएर लैजाने मनस्थितिमा बालेन देखिन्छन्। त्यो पनि नभए निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीबाट लौरो चुनाव लिएर आगामी चुनावमा जाने बालेनको तयारी छ। यसैका लागि उनले सम्भव हुनेजति सबैसँग रिले छलफल चलाइरहेका छन्।
दुई दिनको म्याराथन छलफलबाट मेयर शाहले प्रमुख जेनजी समूहहरूसहित रेशम चौधरी, ज्ञानेन्द्र शाही तथा पूर्वविवेकशिलका केही नेताहरू आफ्नो पक्षमा रहेको सन्देश दिएका छन् । साथै, कुलमान घिसिङसँगको सहकार्यको सम्भावना पनि बलियो भएको सन्देश दिन उनी सफल भएका छन् । यो सन्देशले रास्वपासँगको छलफलमा उनको हात माथि हुँदै गएको देखिएको छ ।
