`

समानुपातिक उम्मेदवार चयनका लागि खुल्ला छलफलमा रास्वपा 

Nepal One HD १० पुष २०८२ १९:४८
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत समानुपातिक उम्मेदवारी छनोटका लागि ब्लु प्रिन्ट संवादको सुरुवात गरेको छ । गोंगबुको बिजी ब्याङ्क्वेटमा आज सुरु भएको उक्त संवादमा विभिन्न समुदाय, जातजाति,  भाषाभाषीको प्रतिनिधित्व गर्दै देशभरीबाट उल्लेख्य मात्रामा नेता तथा कार्यकर्ताको उपस्थिति छ।

यो प्रक्रियाका लागि रास्वपाले समावेशीता र समानताका आधारमा स्वदेश तथा प्रवासबाट आकांक्षीहरूको नाम मागेको छ ।  बिहीबार र शुक्रबार गरी दुई दिन छलफलपछि आकांक्षीहरूमध्येबाट प्रारम्भिक सूची तयार हुने छ । यो सूचीमा रहेका आकांक्षीहरूलाई पार्टी सदस्यहरूले मतदान गरी समानुपातिक तर्फका उम्मेदवार चयन गर्नेछन् । त्यसका लागि दुई दिनसम्म रास्वपाले सबै प्रारम्भिक उम्मेदवार बीच उनीहरुको योग्यता/क्षमता लागि सघन बहस तथा छलफल गर्ने जनाएको छ ।

हामीले प्रारम्भिक समानुपातिक प्रणाली तर्फका रास्वपाका चार जना आकांक्षीसँग प्रतिक्रिया लिएका छौं। यो ब्लु प्रिन्ट संवाद किन भन्ने प्रश्नमा उनीहरु सबैले यसले पार्टीको भिजनलाई प्रष्ट पार्ने र पार्टी अरु भन्दा किन फरक छ भन्ने कुरालाई पुष्टी गर्ने बताए ।

‘ब्लु प्रिन्ट संवादमार्फत रास्वपाले प्रविधिको उच्चतम प्रयोग गर्छ। यो कार्यक्रममार्फत हामी देशविदेशमा भएका सबै रास्वपाका सदस्यहरुले आन्तरिक मतदान प्रक्रियामा भाग लिनेछन।  यसले हाम्रो आन्तरिक लोकतन्त्र त मजबुत गर्ने नै छ साथै यो किसिमको कार्यक्रमले हाम्रो दिशालाई पनि निर्दिष्ट गर्छ’, एकजना आकांक्षीले बताए ।

दुई दिनसम्म चल्ने यो संवादबाट रास्वपाले ब्लु प्रिन्ट सहितको राजनैतिक नक्सा तयार गर्ने बताईएको छ ।  ‘नेपालीमा भन्दा ‘ब्लु प्रिन्ट’ भनेको राजनैतिक नक्सा हो,’ अर्का एक आकांक्षीले भने, ‘राजनैतिक नक्सा भनेको कस्तो भने ट्या भित्र कस्ता मान्छे छन्।  कस्तो भूगोलका मान्छे छन् । त्यहाँ कस्तो किसिमको पहिचान छ। यी सबै कुरा समेटेर हामी संवाद र छलफलबाट अगाडी बढ्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले हरेक आमनिर्वाचनमा सहभागी आकांक्षी उम्मेदवारसँग छलफल गर्दै आएको छ।  यस अघि प्रतिनिधि सभा निर्वाचन २०७९ र प्रतिनिधि सभा उपनिर्वाचन २०८१ र ८२ का लागि पनि विभिन्न उम्मेदवारसँग संवाद र छलफल गर्दै खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार चयन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *