‘विचार सिचार छैन, त्यसै कुदेको छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरूलाई ‘विचारविहीन’ समूहको रूपमा अर्थ्याएका छन् । ती दलका नेताहरूले राजनीतिक भाषा नबोल्ने र सामाजिक सञ्जालमा गाली मात्रै गर्ने गरेको उनले बताए । त्यसरी राजनीति नहुने ओली बताउँछन् । ‘नयाँ खुलेका दलहरूलाई राजनीतिक भाषा बोल्न आउँदैन । विचार सिचार केही छैन । त्यत्तिकै कुदेको छ, हाहु गरेको छ,’ उनले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘सामाजिक सञ्जालमा तथानाम बोलेको छ । त्यसको भरमा राजनीति हुने होइन ।’
नयाँ दलहरूलाई उनले दल मान्न अस्वीरकार गरेका छन् । दल हुन आवश्यक राजनीतिक दर्शन, सिद्धान्त, विचार, कार्यदिशा नयाँ दलहरूमा केही पनि नभएको बताए । यससँगै ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन गरेर जाने संकेत गरेका छन् । उनले लोकतन्त्रको पुनर्स्थापना र संविधानलाई जीवन्तता दिन यी दुई दल मिल्नुपर्ने औँल्याए ।
‘अहिले प्रतिस्पर्धाको समय होइन । अहिले लोकतन्त्र र संविधानको पुनर्स्थापना हो । शान्ति पुनर्स्थापना हो । त्यो अभिभाराका लागि दुई दल एक भएर जानुपर्छ मिलेर जानुपर्छ,’ ओलीले भने, ‘लोकतन्त्र सुदृढ र स्वतन्स्त्र भएपछि हामी स्वस्थ प्रतिस्पर्धा गर्छौं ।’ रास्वपासँग पालैपालो कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह एकता प्रक्रियामा जोडिएपछि ओलीले कांग्रेस–एमाले पनि निर्वाचनमा गठबन्धन गरेर जानेतर्फ स्पष्ट संकेत गरेका हुन् ।
