`

संविधानको मर्मविपरीत समानुपातिक बन्दसूची, जेन–जी नेताहरूको पोखियो असन्तुष्टि

–रामचन्द्र जोशी १६ पुष २०८२ १३:५९
प्रमुख खबर

रामचन्द्र जोशी

काठमाडौं । निर्वाचन आयोगमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएका समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर चौतर्फी प्रश्‍न उठिरहेको छ । संविधानको मर्म र भावनाविपरीत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको भन्दै दलहरू आलोचनामुक्त रहेनन् ।

संविधानमा अल्पसंख्यक समुदाय, पिछडिएका वर्ग र राज्यको पहुँचमा नरहेका समुदायलाई समानुपातिक समावेशी प्रतिनिधित्व गराउने व्यवस्था छ । तर, दलहरूले यसपटक समानुपातिक व्यवस्थाको धज्जी उडाउँदै पटकपटक अवसर पाएका, राष्ट्रिय राजनीतिमा परिचित र प्रख्यात व्यावसायिक घरानाका व्यक्तिहरूलाई बन्दसूचीको अग्रस्थानमा समेटे । जसबाट समानुपातिक निर्वाचन प्रणालीमाथि नै प्रश्‍न उठ्न थालेको छ । प्रश्‍न उठाउनेहरू गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको अग्रमोर्चामा देखिएका जेन–जी नेताहरू हुन् ।

कसले के भने ?

जेन–जी विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी रक्षा बमले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै भनेकी छिन्, ‘सुदूर सधैँ दूर ।’ दलहरूले बुझाएको बन्दसूचीप्रति असन्तुष्ट उनले सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै सुदूर अझै पनि सुदूर भएको र त्यहाँका मानिस र समुदाय वर्षौँदेखि राजधानीबाट अपहेलित भएको गुनासो गरेकी छिन् । उनले सुदूर देशको मानचित्रमा पर्छ भन्‍ने कुरा सबै दलले समानुपातिक बन्दसूची बुझाउँदा बिर्सिएको भन्दै चित्त दुखाइन् ।

जेन–जी नेता अर्नव चौधरीले पनि दलहरूले बुझाएको समानुपातिक बन्दसूचीमा आपत्ति जनाएका छन् । आफूहरूले समावेशिता भन्दै कराइरहँदा त्यसको ख्याल नगरी असमावेशी ढंगले बन्दसूची आयोगमा बुझाएको आरोप लगाए ।

लामो समयदेखि समावेशिता र समानुपातिक प्रतिनिधित्वको विषयमा आवाज उठाउँदै आएका माजिद अन्सारीले पनि दलहरूको समानुपातिक बन्दसूचीप्रति विरोध जनाएका छन् । उनले बन्दसूची खस–आर्यको कब्जामा परेको भन्दै कडा शब्दमा विरोध गरे ।

जेन–जी आन्दोलनकै अर्की अगुवा भावना राउतले समेत दलहरूले आयोगमा बुझाएको बन्दसूचीप्रति आपत्ति जनाएकी छिन् । उनले समानुपातिक बन्दसूची नसच्याइए प्रत्यक्षमा उम्मेदवार हेरेर मात्रै मतदान गर्ने चेतावनी दिएकी छिन् ।

त्यस्तै, जेन–जी नेता तनुजा पाण्डेले पनि दलहरूले सार्वजनिक गरेको बन्दसूचीको विरोध गरेकी छिन् । उनले समानुपातिक समावेशी प्रणालीलाई पैसा र शक्तिको खेल बनाउन खोजिएको भन्दै दलहरूको बन्दसूचीको विरोध गरेकी हुन् ।

जेन–जी नेता आदित्यले पनि जनताले पुरानाले गरेको गल्ती फेरि गरुन् भनेर नयाँलाई विकल्प नखोजेको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *