रास्वपाको समानुपातिक बन्दसूचीमा विवादै विवाद , के भन्छन् युवा नेताहरु ?
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा सामाजिक अभियन्ताहरुले चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् । रास्वपाको बन्दसूचीमा मोडल, नायिका तथा होष्ट रिमा विश्वकर्मा, नेपाल आईडलको होष्टका रुपमा काम गरिरहेका आसिफ़ साह, गोल्डस्टार कम्पनीकी मालिक विदुषी राणा, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, चर्चित गायक प्रकाश सपुत, चर्चित गायिकाद्वय त्रिशला गुरुङ र सत्यकला लगायतका चर्चित र स्थापित नाम रास्वपाको समानुपातिक सूचीको अग्रभागमा परेपछि सागर ढकल, हेमराज थापा, आशिका तामाङलगायतका चर्चित सामाजिक अभियन्ताहरु असन्तुष्ट बनेका छन् ।
उनीहरुले नयाँ भन्दै आएकाहरुले पुरानै दलको जस्तो रबैया अपनाएको भन्दै रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा विरोध जनाएका हुन् । अभियन्ता सागर ढकालले प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन, चाहे नयाँ हुन्, चाहे पुराना भन्दै रास्वपाको बन्दसूचीप्रति आलोचनात्मक टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-
यसै सन्दर्भमा रास्वपाकी केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्कीले ‘प्राइमरी भोटिङकै धज्जी उडाइएको’ भन्दै नेतृत्वमाथि सीधा प्रश्न उठाएकी छन् । पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैं ‘पोजिसन अफ बेनिफिट’ मा रहेको आरोप लगाउँदै उनले पद होल्ड गर्नेहरूले प्रत्यक्ष चुनाव लड्ने साहस देखाउनु पर्ने धारणा सार्वजनिक गरेकी छन् ।
असन्तुष्टि केवल प्रक्रियामा सीमित छैन, भूगोल र प्रतिनिधित्वको सवाल पनि चर्को बनेको छ । सभापति रवि लामिछानेको गृह जिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिँदा सुदूरपश्चिमबाट दुई जना मात्रै पर्नु गम्भीर असन्तुलनको उदाहरण बनेको छ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले ‘मेरो सुदूर अझै पनि सुदूर नै छ’ भन्दै समानुपातिक प्रणालीलाई ‘सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र’ बनाइएको आरोप लगाएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्-
त्यस्तै, चर्चित सामाजिक अभियन्ता आशिका तामाङले पनि रास्वपाको बन्दसूचीमा आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूले नयाँ बाट गल्ती नहोला भन्ने सोचेको तर यहाँ त निमुखा वर्गको छाती कुल्चेर मिस नेपाल, ससुरा बा, धनाढ्यहरुलाई अवसर दिइने रहेछ भन्दै दु:ख व्यक्त गरेकी छिन् ।
सरकारको नजिक मानिने विशेष गरी कुलमान घिसिङको विश्वास पात्रमध्येका एक मानिने अभियन्ता हेमराज थापाले पनि रास्वपाको बन्दसूचीको विरोध गरेका छन् । उनले काठमाडौँको चस्माले सुदुरपश्चिम देख्दैन- कर्णाली देख्दैन भन्दै बन्दसूचीमा आपत्ति जनाएका हुन् ।
केही समय अगाडिसम्म यी तीनै जना अभियन्ताहरु रास्वपामा प्रवेश गर्ने चर्चा पनि चलेको थियो ।
