वसन्तपुरमा टोपी, माइतीघरमा धोती दिवस
काठमाडौं । नेपालीहरूले मंगलबार एकै दिन धोती र टोपी दिवस मनाएका छन् । दुवै नेपालीजनले लगाउने पहिरन हुन् ।
काठमाडौंको माइतीघर क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अगुवाइमा धोती दिवस मनाइएको हो ।
दिवस मनाउन धोती पहिरिएर आएकाहरूले ‘धोती–टोपी एक हौँ’ नारा गुञ्जाएका थिए । ‘धोती भनेर हेप्न पाइँदैन’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।
मंगलबार बिहान भने काठमाडौंको वसन्तपुर क्षेत्रमा टोपी दिवस मनाइएको थियो ।
डा. बाबुराम भट्टराई २०६८ मा प्रधानमन्त्री भएका बेला सरकारले राष्ट्रिय पोशाकबाट टोपी हटाउने कदम चालेको थियो । त्यसको विरोधमा टोपी लगाएर टोपीप्रेमीहरू प्रदर्शनमा उत्रिएका थिए ।
त्यसको सम्झनामा प्रत्येक वर्ष टोपी दिवस मनाउने गरिन्छ । उनीहरूका विचारमा टोली नेपाली पहिचान मात्रै नभएर गौरव पनि हो ।
तर, टोपी र धोती दिवसलाई सरकारले औपचारिक मान्यता दिएको छैन ।
