सुनसरी गोलीकाण्ड : पीडित र प्रशासनबीच पाँच बुँदे सहमति, अझै रोकिएन आन्दोलन
सुनसरी । सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएको घटना छानबिनका लागि समिति बनाइएको छ । आक्रोशित स्थानीयले भने अझै आन्दोलन रोकेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि सहायक सीडीओको संयोजकत्वमा प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धानका अधिकृत रहने गरी समिति बनाइएको छ । समितिलाई प्रतिवेदन पेश गर्न ७ दिनको समय सीमा दिइएको छ ।
यस्तै मृतककी श्रीमती र छोरालाई रोजगारी दिलाउने सहमति भएको छ । एपीएफको लौकहीस्थित बीओपी टोली पनि फिर्ता गराउने सहमति बनेको सुनसरीका सीडीओ वासुदेव घिमिरेले बताए । सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेको मृतकका आफन्त र स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका साहको मृत्यु भएको थियो । उनको मृत्युपछि स्थानीय र पीडित पक्ष आन्दोलित भएका थिए । आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा पनि आक्रमण भएको थियो ।

