‘पैसा संकलन सूची’को आरोपले रास्वपामा समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ताको होड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिकतर्फको बन्दसूचीमा परेका एकपछि अर्को उम्मेदवारले उम्मेदवारी फिर्ता लिइरहेका छन् ।
नयाँ भनिएको रास्वपामा पनि पुराना दलहरूमा जसरी समानुपातिकको बन्दसूचीमा ‘तरमाराहरूकै रजगज’ भएको भन्दै आलोचना तीब्र बनेपछि स्वतः उम्मेदवारी फिर्ता लिनेहरू बढेका हुन् ।
शनिबार बिहानै उम्मेदवार सचिन ढकालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा हुन् ।उनले व्यक्तिगत कारणले उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारे ।
‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यसपटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सचिनको नाम समानुपातिकको बन्दसूचीमा परेपछि आलोचकहरूले ‘पैसा संकलन सूची’ काे आरोप लगाएका थिए । नभन्दै धनाढ्यदेखि सेलिब्रेटीहरू रास्वपाको बन्दसूचीमा समेटिए, जसले आलोचना बढ्यो ।
आलोचनाबीच चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले पनि रास्वपाको समानुपातिकतर्फको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उनले काठमाडौं–५ बाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा नै गरे ।
‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो,’ उनले फेसबुकमा शनिबार बिहान लेखे, ‘हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ । देशभन्दा ठूलो केही हुँदैन ।’
२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका थिए । उनीभन्दा त्यस क्षेत्रका सांसद एमाले नेता ईश्वर पोखरेल थिए । सोही क्षेत्रबाट निर्वाचन लड्ने घोषणा शाहले गरेका हुन् ।
समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिने डा. त्रिशला गुरुङ पनि छिन् । उनी कुलमान घिसिङ संरक्षक रहेको तत्कालीन उज्यालो नेपाल पार्टीबाट रास्वपाका समानुपातिक उम्मेदवारी थिइन् ।
उनले भनिन्, ‘गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु ।’
गुरुङ गायिका हुन् । उनीसँगै पर्वतारोही टासी लाक्पा शेर्पाले पनि रास्वपाको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएका छन् । बन्दसूचीमा परेपछि उनीहरू आलोचित थिए ।
राजनीतिक विश्लेषक राम गुरुङको शब्दमा समानुपातिक बन्दसूची राजनीतिक रूपमा जित्न नसक्ने, संगठन गर्न नसक्ने, दल खोल्न नसक्ने र दलमा प्रभाव जमाउन नसक्ने मानिसहरूका लागि ल्याइएको व्यवस्था हो । तर, त्यसविपरीत रास्वपा पनि अघि बढ्यो ।
आलोचना सुन्दैनन् कांग्रेस–एमाले
यसअघि कांग्रेस, एमाले, नेकपा, राप्रपा, जसपा नेपाललगायत दलहरूले पनि ‘तरमारारूकै हालीमुहाली’ गरेर समानुपातिक प्रणालीकै धज्जी उडाएको आरोप सामना गर्नुपरेको थियो ।
उसो त यसपटक पनि कांग्रेसले पञ्चायत, प्रजातन्त्रदेखि गणतन्त्रकालसम्मै सत्ता र शक्तिमा खेलाडी अर्जुननरसिंह केसीलाई समानुपातिक सांसदको सूचीमा राखेको छ ।
उनी कांग्रेस महामन्त्री गगन थापाका ससुरा पनि हुन् । उनी समानुपातिक सूचीमा परेपछि कांग्रेसभित्रै विरोध भयो । तर, उनले उम्मेदवारी फिर्ता लिने कुनै सुरसार गरेका छैनन् ।
एमालेले पटकपटक उपप्रधान तथा गृह, रक्षालगायत विभिन्न महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका र २०६४ देखि हरेक संसदमा रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई समानुपातिक उम्मेदवार बनाएको छ ।
थापा समानुपातिक सूचीमा परेपछि एमालेकै नेता गोकुल बाँस्कोटाले उनको कडा शब्दमा विरोध गरेका थिए । तर उनी पनि उम्मेदवारी फिर्ता लिने मनस्थितिमा देखिएका छैनन् ।
