`

आन्तरिक द्वन्द्व मिलाउन शेखर कोइरालाले बढाए संवादको गति

Nepal One HD १९ पुष २०८२ १३:०१
समाचार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र विकसित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आन्तरिक संवादलाई तीब्र बनाएका छन् ।

उनले शनिबार बिहान काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति तथा अन्य महत्वपूर्ण नेताहरूसँग अन्तरक्रिया गरी पार्टीको भावी बाटोबारे राय लिएका छन् ।

विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा देशमा देखिएको समग्र राजनीतिक संकट, त्यसको समाधानका सम्भावित उपाय तथा पार्टीभित्र देखिएको द्वन्द्वको सुरक्षित अवतरण कसरी गराउन सकिन्छ भन्‍ने विषयमा गहन विचार–विमर्श भएको सहभागी नेताहरूले बताएका छन् ।

छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीहरू गगन थापा र विश्‍वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावबारे त्यसमा कसरी समन्वय गरेर अघि बढ्न सकिन्छ भन्‍ने विषय पनि उठेको थियो ।

साथै, आगामी आम निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने रणनीतिका बारेमा समेत विस्तृत छलफल भएको छ ।

पार्टीभित्र देखिएको फरक धार र मतभेदलाई एक सूत्रमा बाँध्‍ने उपाय खोज्‍नुपर्नेमा सहभागी नेताहरूले जोड दिएका थिए ।

छलफलमा सहभागी नेताहरूले पार्टीभित्रको आन्तरिक एकता मजबुत नगरी चुनावी प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने धारणा व्यक्त गर्दै उनीहरूले नेतृत्व तहले संवाद र समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

डा. शेखर कोइरालाको यो सक्रियताले कांग्रेसभित्र बढ्दो असन्तोष र आन्तरिक द्वन्द्वलाई समाधानतर्फ लैजाने प्रयासका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *