राप्रपाकाे समानुपातिक सूचीमा फेरि ‘स्वार्थको द्वन्द्व’, पार्टीभित्र असन्तुष्टिकाे धुवाँ
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन दबाब दिइरहँदा उधेकलाग्दो तथ्य खुलासा भएको छ ।
त्यो हो– कार्यसम्पादन समिति सदस्यहरूले बन्दसूचीमा आफ्नो नाम आफैं राखे । स्रोतको दाबीमा यस्तो भएको दोस्रोपटक हो । यो सोह्रै आना ‘स्वार्थको द्वन्द्व’ हो ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि समानुपातिकतर्फको बन्दसूचीमा पहिलोपटक कार्यसम्पादन समिति सदस्यहरूले आफ्नो नाम आफैं राखेका थिए । त्यसबेला पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन थिए । अहिले पनि उनी नै छन् ।
लिङ्देन ती नेता हुन्, जो आफ्ना सांसद दीपक बोहराको निधनपछि रुपन्देही–३ मा प्रतिनिधिसभा निर्वाचन हुने तय हुँदा प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोटको पक्षधर हुन् ।
तर, आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ बुझाएको बन्दसूचीमा भने कार्यसम्पादन समिति सदस्यहरूलाई फेरि आफैं नाम राख्न लगाएर ‘स्वार्थप्रेरित दिलदार’ नेता भए । कारण राप्रपा महाधिवेशनउन्मुख छ ।
महाधिवेशनलाई लक्षित गरेर पनि उनले कार्यसम्पादन समिति सदस्यहरूलाई समानुपातिक बन्दसूचीको सन्दर्भमा नबिच्काउने रणनीति अख्तियार गरेको चर्चा राप्रपामा छ ।
सोहीअनुसार राप्रपाबाट आदिवासी जनजातिबाट पहिलो नम्बरमा रहेका तोरण गुरुङ र दोस्रो नम्बरमा रहेका राजेन्द्र गुरुङ कार्यसम्पादन समिति सदस्य हुन् ।
खासमा पहिलो नम्बरमा अध्यक्ष लिङ्देन हेमजंग गुरुङलाई राख्न चाहन्थे । उनी पनि कार्यसम्पादन समिति सदस्य हुन् । तर, पार्टीभित्र निर्वाचन हुँदा उनी दोस्रो नम्बरमा परे । दोस्रो नम्बरमा छँदा समानुपातिक सांसद हुने मौका निकै कम हुन्छ ।
त्यसो हुँदा उनले आफ्नो नाम हटाउन लगाए, जसकारण महामन्त्रीसमेत रहेका राजेन्द्र गुरुङ दोस्रो स्थानमा उक्लिए ।
उपाध्यक्षसमेत रहेका कार्यसम्पादन समिति सदस्य उद्धव पौडेललाई खस–आर्य क्लस्टरबाट पहिलो नम्बरमै राख्न चाहन्थे लिङ्देन । तर, निर्वाचन भयो ।
निर्वाचन हुँदा मधेस प्रदेश अध्यक्ष भरत गिरीले उनलाई पछि पारे । गिरीलाई अर्का महामन्त्री डा. धवलशम्शेर जबरा पक्षले काँध हाले । अन्ततः अध्यक्ष लिङ्देननिकट उद्धव पहिलो नम्बरमा परेनन् ।
लिङ्देननिकट कोषाध्यक्ष नीलकण्ठ काफ्ले पनि प्रतिस्पर्धामा थिए । उनी त पौडेलभन्दा पछि परे । त्यसपछि दुवैले नाम हटाउन लगाएको स्रोतको दाबी छ ।
पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङ पनि स्वतः कार्यसम्पादन समिति सदस्य हुन् । उनले श्रीमती सरस्वती लामाको नाम समानुपातिक सूचीमा आदिवासी महिला क्लस्टरबाट पहिलो नम्बरमा राखे। खस–आर्य महिलाबाट समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा स्वाती थापाको नाम हुने अड्कल पार्टीभित्र धेरै नेताको थियो ।
कारण, खुस्बु ओली काठमाडौं–९ बाट प्रत्यक्ष निर्वाचन लड्ने चर्चा थियो । फेरि, उनी जनाधार नभएको नेतृ हुन् ।
झापाको कन्काई नगरपालिका वडा नम्बर– ६ मा १६ मंसिर २०८१ मा भएको उपनिर्वाचनमा राप्रपाका उम्मेदवार नारायणप्रसाद निरौलाले २९ मत पाए । जबकि, त्यहाँ ४९३ मत प्राप्त गर्दै स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भए । यो खुस्बुको गृहनगरपालिका हो, जहाँ राप्रपा उम्मेदवारको जमानत जफत भयो ।
उनै खुस्बुको खस–आर्य महिलाबाट पहिलो नम्बरमा राख्न पार्टी छलफलमा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले नाम लिएका थिए । भनिन्छ, त्यो प्रस्ताव लिङ्देनको थियो । उपाध्यक्ष प्रधानले राखे ।
सोहीअनुसार स्वातीलाई पछि पार्दै खुस्बु पहिलो नम्बरमा रहिन् । यसबारे राप्रपाका असन्तुष्ट प्रवक्ता शाहीले विरोध जनाएकी छिन् । पार्टी नेतृत्वलाई नाम सच्याउन उनको आग्रह छ ।
समानुपातिकतर्फको बन्दसूचीमा पार्टीको कार्यसम्पादन समिति सदस्यदेखि पार्टी अध्यक्षको अघिपछि हिँड्नेहरूको वर्चश्व देखिएपछि पार्टीमा तीब्र असन्तुष्टि फैलिएको छ ।
असन्तुष्टमध्येको एक नेताले नेपालवान एचडीलाई भने, ‘राप्रपामा समानुपातिक सूचीको १ नम्बरमा पर्न यी प्रवृतिबाहेक अरूको चान्स नै छैन । वर्षौं दुःख गरेका, जग्गा बेचेर चुनाव लडेका, राप्रपाका लागि शहीद बनेका, पूरा यौवन र जीवन राप्रपामा उत्सर्ग गर्नेहरू सबै आउट, यस म्यान बाहेक अरू सबै पूरै आउट ।’
राप्रपाले निर्वाचन अयोगमा हालै ११० जनाको नाम राखेर समानुपातिकतर्फको बन्दसूची बुझाएको छ ।
