`

‘लालकिल्ला’मा आठौँपटक उम्मेदवार बन्दै ओली, को–को होलान् टक्करमा उत्रिने ?

Nepal One HD १९ पुष २०८२ १७:४८
प्रमुख खबर

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट एकल उम्मेदवार सिफारिस भएका छन् ।

उनलाई शनिबार बसेको पार्टी क्षेत्रीय कमिटी बैठकले उम्मेदवार सिफारिस गरेको हो । उम्मेदवार सिफारिससँगै ओलीलाई आठौँपटक निर्वाचन लड्ने बाटो खुला भएको छ । निर्वाचन आगामी २१ फागुनमा हुँदै छ ।

पहिलोपटक ओलीले २०४८ सालमा प्रतिनिधिसभा निर्वाचन लडे । त्यसपछि २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचनमा उनी प्रतिस्पर्धामा रहे ।

उनीसँग २०६४ मात्रै पराजित भएको अनुभव छ । त्यसबेला १० वर्षे विद्रोह गरेर भर्खरै संसदीय राजनीतिमा आएको दल नेकपा माओवादीका नेता विश्‍वद्वीप लिङ्देनसँग पराजित भए ।

लिङ्देन माओवादीका त्यसबेला चर्चित नेता थिएनन् । तर, उनैसँग ओलीको संसदीय निर्वाचनमा पहिलो हार भयो ।

बाँकी निर्वाचनहरूमा ओलीको सहज जित हुँदै आएको छ । २०७४ र २०७९ को निर्वाचन परिणामलाई हेर्ने हो भने त ओली निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतले विजयी भए, जहाँ एमालेको बलियो संगठन शक्ति छ । त्यही भएर एमालेजनहरू ओलीको क्षेत्रलाई भन्छन्, ‘लालकिल्ला’ ।

तर, यसपटक ओलीको लालकिल्ला दोस्रोपटक भत्काउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेता बालेन्द्र शाहलाई अघि सार्ने गाइँगुइँ सुनिन्छ । बालेन काठमाडौंका प्रमुख हुन् । ओलीसँग बालेनले टक्कर दिन सक्ने ठानिएको छ ।

हालै नेपाली कम्युनिस्ट पार्टीका नेता रञ्‍जित तामाङले ओलीसँगको प्रतिस्पर्धामा बालेन आए सहकार्य गर्न सकिने बताएका छन् । तामाङले भनेको सहकार्य ओलीलाई पराजित गर्न चुनावी गठबन्धन गर्न सकिनेतर्फ संकेत गरेका हुुन् । उनले यसअघि नै ओलीसँग निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

यस्तै, ओलीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिवक्ता यज्ञमणि न्यौपानेले शनिबार घोषणा गरेका छन् । विगतमा उनले रास्वपा सभापति रवि लामिछानेको कानुनी सल्लाहकार भएर काम गरे । उनै न्यौपाने यसपटक ओलीसँग प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *