`

च्यासलमा ओली–प्रचण्डबीच एक्ला–एक्लै गोप्य संवाद

Nepal One HD २० पुष २०८२ १२:४२
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार एक्लाएक्लै भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एक निजी घरमा भएको भेट करिब २५ मिनेट चलेको बताइएको छ ।

प्रचण्ड आइतबार साँझ भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका बेला उक्त भेट भएको हो । प्रचण्डका प्रेस संयोजक तथा प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, चुनावी वातावरण र दलहरूबीचको सम्भावित सहकार्यका विषयमा कुराकानी भएको थियो । उनले भने, ‘चुनावको वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित थियो ।’ दुई नेताबीच शनिबार बिहानै भेट गर्ने कार्यक्रम तय भए पनि प्रचण्ड पूर्वी नेपालको संखुवासभाबाट काठमाडौं फर्कने क्रममा विमान ढिलाइ भएपछि भेट आइतबारका लागि सरेको थियो । राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच राजनीतिक संवाद र तालमेलको प्रयास तीव्र भइरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भेटवार्तामा राष्ट्रिय सभा निर्वाचनसँगै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दलहरूबीच सहकार्यको सम्भावना, साथै सरकारले चुनावको अनुकूल वातावरण बनाउन नसकेको विषयमा समीक्षा भएको स्रोतले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिकाका प्रमुख–उपप्रमुख मतदाता हुने भएकाले दलगत तालमेलबिना जित हासिल गर्न कठिन हुने विश्लेषण भइरहेका बेला ओली–प्रचण्ड भेटलाई चासोका साथ हेरिएको छ । यद्यपि, भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर, आगामी निर्वाचन र राजनीतिक समीकरणको सन्दर्भमा दुई शीर्ष नेताबीच भएको यो संवादलाई भावी राजनीतिक दिशाका संकेतका रूपमा हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *