भेनेजुएलामा अमेरिकी आक्रमणबारे नेपाल सरकारकाे अर्थपूर्ण मौनता, वामपन्थीको आक्रोश
काठमाडौं । भेनेजुएलामा ठूलो सैन्य आक्रमणपछि राष्ट्रपति निकोलस मदुरो दम्पतिलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याएको घटनापछि नेपालका वामपन्थी शक्तिहरूले अमेरिकी कदमको कडा निन्दा गरेका छन् ।
एउटा सार्वभौम देशमाथि ‘नाङ्गाे’ हस्तक्षेप गरेर राष्ट्रप्रमुखलाई देशबाहिर लाने र मुद्दा लगाएर फसाउने ट्रम्प प्रशासनको नीति साम्राज्यवादको उत्कर्ष भएको टिप्पणी गरेका छन् ।
उनीहरूको दाबीमा भेनेजुएलामा अमेरिकाको दादागिरी मात्रै नभएर राज्य आतंकको प्रष्ट तस्बिर देखियो ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता झलनाथ खनालले भेनेजुएलामाथि हिंस्रक सैन्य आक्रमण गरेको र त्यो भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लङ्घन भन्दै अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराध भएको भन्दै अमेरिकाको आलोचना गरेका छन् ।
उनले आइतबार बिहान विज्ञप्ति जारी गर्दै भने, ‘यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवाद पनि हो ।’
अमेरिकाले भेनेजुएलामा रहेको विश्वकै ठूलो तेल भण्डार कब्जा गर्न लामो समयदेखि ‘गिद्धे दृष्टि’ लगाएको र त्यसकै लागि शनिबार बिहानै त्यहाँ घोर अपराध गरेको आरोप लगाए । उनले राष्ट्रपति मदुरो र उनकी पत्नीको सकुशल रिहाइको मागसमेत गरेका छन् ।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंसात्मक आक्रमणविरुद्ध कडा कानुनी कदम चाल्न र साना तथा कमजोर देशहरूको सार्वभौमसत्ता रक्षाका लागि उनले अपिल गरे ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटना संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लङ्घन भएको अथ्यार्ए ।
कुनै एउटा देशका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्काे देशको राष्ट्रप्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको बताए ।
यस्तो अमेरिकी कदम स्वीकार्न नसकिने उनको भनाइ छ । ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान लेखे ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि विज्ञप्ति जारी गरेर अमेरिकी आक्रमणको विरोध गरेका छन् ।
अमेरिकी आक्रमणमा परेको भेनेजुएला संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो । भेनेजुएयलामाथिको आक्रमणलाई रुस, चीन, कोलम्बियालगायत देशरूले निन्दा गर्दै गरेका छन् ।
नेपाल सरकारकाे अर्थपूर्ण मौनता
भेनेजुएलामा अमेरिकी आक्रमणलाई लिएर नेपाल सरकारको औपचारिक प्रतिक्रिया आएको छैन ।
यसअघि कुनै शक्ति राष्ट्रले अर्को राष्ट्रमाथि आक्रमण गर्दा नेपालले शान्ति बहालीका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गथ्र्यो ।
विश्वमञ्चहरूमा नेपालले शान्तिको पक्षमा वकालत गर्थ्याे । भलै युक्रेन युद्धमा तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल युक्रेनको पक्षमा रहेको भनेर मतदान गरे, जुन नेपालको परराष्ट्रनीतिको खिलापमा भयो भन्दै नेपालमै आलोचना भयो । यसबाहेक नेपाल जहिल्यै शान्तिको प्रवक्ताको भूमिकामा रह्याे ।
तर, जसरी भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमण भयो, त्यहाँका राष्ट्रपति मदुरो दम्पतिलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याइयो र कम्तिमा ४० जना भेनेजुएली नागरिक मारिए, यसबारे नेपाल सरकार मौन रहनु अर्थपूर्ण मानिएको छ ।
कतिपय कूटनीतिज्ञहरूले यसलाई अमेरिकी कदमको मौन समर्थनको रूपमा विश्लेषण गरेका छन् ।
