‘टिकटक विवाद’ ले वीरगञ्जमा तनाव, मधेसभर सुरक्षा व्यवस्था कडा
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा धर्म र संस्कृतिलाई लक्षित गर्दै गरिएको अभद्र टिप्पणीले मधेस प्रदेशमा तनाव सिर्जना भएको छ । धनुषाबाट सुरु भएको विवादको असर सीमावर्ती सहर वीरगञ्जसम्म फैलिँदा आज बिहानदेखि त्यहाँ प्रदर्शन समेत भइरहेको छ । बढ्दो संवेदनशील अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरीले मधेसका आठै वटा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
केही दिनअघि जनकपुरधाममा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले टिकटकमा धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोप्रति स्थानीयस्तरमा चर्को विरोध भएपछि स्थानीय अगुवाहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल चलिरहेका बेला ती युवालाई पक्राउ गरिएको विषयलाई लिएर केही समूह आक्रोशित बनेका थिए । सोही क्रममा जनकपुरधाममा एक मस्जिदमाथि आक्रमण समेत भएको थियो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको धनुषा प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिएका छन् ।
धनुषाको घटनापछि त्यसको असर पर्सा जिल्लाको वीरगञ्जमा देखिएको छ । आज बिहानैदेखि त्यहाँ विभिन्न समूहले प्रदर्शन थालेपछि स्थिति थप संवेदनशील बनेको छ । कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले पछिल्लो अवस्थाको निरन्तर विश्लेषण गर्दै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । ‘कानुन विपरीत गतिविधिमा संलग्न जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गरिन्छ। सबै जिल्लामा निगरानी र सुरक्षा व्यवस्था कडा पारिएको छ’, उनले बताए ।
प्रहरी प्रशासनले सामाजिक सञ्जालमा भड्किलो र आपत्तिजनक सामग्री नफैलाउन सबैलाई संयम अपनाउन आग्रह गरेको छ । साथै, शान्ति सुरक्षामा खलल पु¥याउने कुनै पनि गतिविधि सहन नहुने चेतावनी दिँदै प्रदेशभर शान्ति कायम राख्न स्थानीय समुदायसँग सहकार्य गरिरहेको जनाएको छ ।
