पर्सामा कर्फ्यु, स्थिति सामान्य
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले विरगंजमा निषेधाज्ञा जारी गरेको छ । वीरगञ्जमा धार्मिक सद्भाव भड्किन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकोको जनाएको छ ।
धनुषामा एक मस्जिद तोडफोडको घटनालाई लिएर बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक-अर्काविरुद्ध प्रदर्शनमा उत्रिने स्थिति बनेपछि नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेपालवन एचडीसँगको कुराकानीमा बताए ।
‘ मुस्लिम र हिन्दु सम्प्रदाय दुवैतिरका मान्छेहरु प्रदर्शनका लागि आउन थाले । स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस् भनेर हामीले निषेधाज्ञा लगाएका हौँ’, उनले भने,’अहिले स्थिति सामान्य छ। कुनै दङ्गा हुदैन। अर्को सुचना जारी नभएसम्म निषेधाज्ञा जारी रहन्छ। ‘
सीडीओ भोला दाहालद्वारा जारी आदेशमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको छ ।
धनुषा जिल्लाको सखुवा मरण क्षेत्रमा रहेको एक मस्जिदमा तोडफोड भएपछि आईतबार विरगंजको अवस्था तनावपूर्ण बनेको थियो । घटनापछि धनुषा र भारतको रक्सौलसँग सीमा जोडिएको पर्सा जिल्लाको वीरगञ्ज क्षेत्रमा प्रदर्शन, झडप र तोडफोडका घटना भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमा कथित रूपमा हिन्दूविरोधी सामग्री फैलिएको दाबीपछि तनाव चर्किएको हो । उक्त सामग्री दुई जना मुस्लिम युवाले टिकटकमार्फत पोस्ट गरेको आरोप लगाइएको छ। यस घटनाले स्थानीय स्तरमा आक्रोश बढाउँदै प्रदर्शनको रूप लिएको थियाे ।
मस्जिद तोडफोडको विरोधमा वीरगञ्जमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा टायर बाल्ने, प्रहरीमाथि ढुंगामुढा गर्ने र एक स्थानीय प्रहरी चौकीमा तोडफोड गरिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । झडपका क्रममा सात जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
प्रहरीले टिकटक भिडियो पोस्ट गरेको र तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिकहरूलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । उनले फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत फैलिन सक्ने झुटा हल्ला र घृणात्मक सामग्रीप्रति प्रशासन सतर्क रहेको बताए । प्रशासनले साम्प्रदायिक सद्भाव बिगार्ने, धार्मिक स्थलमा क्षति पुर्याउने वा सार्वजनिक शान्ति भंग गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
धनुषा र पर्सा दुवै जिल्लाका प्रहरी अधिकारीहरूले सीमावर्ती क्षेत्रलाई विशेष निगरानीमा राखिएको र थप तनाव हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको बताएका छन्।

