मन्त्रिपरिषद् बैठक: गुप्तचरमा खड्काकाे बढुवा, ओमान–इजरायल सम्झौता स्वीकृत
काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी)मा ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ ।
५ असोजदेखि विभागमा अतिरिक्त अनुसन्धान निर्देशक पद रिक्त थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त पदमा खड्कालाई बढुवा गरेको हो ।
विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ५ असोजमा अवकासमा गएपछि टेकेन्द्र कार्की मुख्य अनुसन्धान निर्देशक भए ।
त्यसपछि साढे तीन महिनासम्म अतिरिक्त अनुसन्धान निर्देशक पद रिक्त रहेको थियो र सोही पदमा खड्कालाई बढुवा गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ । नेपाल यस्तै, सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट भएको छ ।
समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ ।
जेन–जी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन–जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । वन ऐन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय सरकारले निर्णय गरेको छ ।
यससँगै नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको मन्त्री खरेले जानकारी दिए ।
