प्रचण्डको दल त्यागेर जसपामा यादव, मधेस राजनीतिमा नयाँ समीकरणको संकेत
काठमाडौं । मधेस केन्द्रित राजनीतिमा नयाँ हलचल देखिएको छ । पूर्व माओवादी नेता तथा पूर्वमन्त्री उमेशप्रसाद यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालमा औपचारिक रूपमा प्रवेश गरेका छन् ।
सप्तरीका स्थायी बासिन्दा यादवलाई आइतबार बिहान काठमाडौंको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् । कार्यक्रममा जसपाका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री तथा जसपाका महासचिव लालबाबु राउत, अर्का महासचिव रामकुमार शर्मा, साथै केही समयअघि मात्रै अशोक राई नेतृत्वको जसपाबाट अलग भएर जसपा नेपालमा प्रवेश गरेकी नेतृ रेणु यादवलगायत नेताहरू सहभागी थिए ।
उमेश यादव १० वर्षे सशस्त्र जनयुद्धका सक्रिय सहभागी तथा पूर्व माओवादी लडाकु हुन् । जनयुद्धकालमा उनी सप्तरी जिल्लामा जनसरकार प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका थिए । शान्ति प्रक्रियापछि २०६९ सालको संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका यादव, प्रचण्ड नेतृत्वकै सरकारमा सिंचाइमन्त्री बनेका थिए ।
तर राजनीतिक यात्रामा उतारचढाव आइरहे। २०७४ सालको निर्वाचनमा सप्तरी–३ बाट उम्मेदवार बनेका यादव जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए । त्यसपछि २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा प्रतिष्पर्धा गर्दा पनि उनी सफल हुन सकेनन् । २०७९ कै प्रतिनिधिसभा निर्वाचनमा भने सो क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सीके राउतले उपेन्द्र यादवलाई पराजित गर्दै संसद् प्रवेश गरेका थिए ।
जसपामा प्रवेशपछि उमेश यादवले आगामी निर्वाचनमा पुनः उम्मेदवार बन्ने इच्छा व्यक्त गरे पनि अन्तिम निर्णय पार्टीको हुने बताएका छन् । उनले भने, ‘अहिले नै चुनाव लड्छु वा लड्दिन भनेर भन्न मिल्दैन । पार्टीले जे निर्णय गर्छ, म त्यहीअनुसार अघि बढ्छु ।’ राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय मधेस केन्द्रित विभिन्न दल र प्रभावशाली नेताहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा एकीकृत हुने क्रम तीव्र बन्दै गएको छ । उमेश यादवको प्रवेशले जसपाको संगठनात्मक शक्ति र मधेस राजनीतिमा प्रभाव थप सुदृढ हुने संकेत देखिएको छ ।
